समाज

'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने

भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ। यसको प्रभाव कम्तीमा तीनसम्म रहने मौसमविद्ले जानकारी दिएका छन्।  

चक्रवात कमजोर हुँदा विकसित भएको न्यून चापिय रेखाले बिहीवार बिहानैदेखि राजधानीलाई चिसो बनाएको छ। घाम झुल्किने पखाई मा रहेका सर्वसाधारण धुम्म बादलले छोपेको चिसो वातावरणमा बसिरहेका छन्।

चक्रवातका कारण  भारतको छत्तिसगढमा अवस्थित न्यून चापिय क्षेत्रको आंशिक प्रभावका कारण अहिले राजधानीलगायत मुलुकभरको मौसम प्रभावित बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित न्यून चापिय क्षेत्रको आंशिक प्रभाव कारण चिसो बढेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले नागरिकन्यूजलाई जानकारी दिइन्।  

महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको   छ।  

शाखाका अनुसार आज दिउँसो लुम्बिनी र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  

त्यसैगरी  राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।  

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै शुक्रवारपनि  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

शनिवार पनि  मधेस प्रदेश र बागमती प्रदेशका एक– दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २१ मंसिर २०८० ०३:२४ बिहीबार

आन्ध्र प्रदेश मिचौङ्ग 'मिचौङ्ग' चक्रवात नेपालको राजधानी मौसमविद् चिसो वातावरण