समाज

जातीय नरसंहारविरुद्ध ऐतिहासिक न्याय

साढे तीन वर्षअघि रुकुम पश्चिम चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको जातीय नरसंहार प्रकरणमा जोडिएका हाल पुर्पक्षका लागि थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। तीमध्ये एकजना नाबालकसमेत छन्। अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले उनीहरूलाई जन्मकैदसहित सामान्य तारेख र धरौटीमा रहेका आठ जनालाई सफाइ दिएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जनाए। नवराजकी प्रेमिका भनिएकी मल्ल थरकी युवती र उनकी आमासहित अन्यलाई जातीय छुवाछूतमा दुई वर्ष सजाय र ५० हजार रूपैयाँ जरिवाना सुनाइएको छ। मृतकका परिवारलाई दामासाहीले जनही ४० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ।

उक्त सुनुवाइले पीडित परिवारले न्याय महसुस गरेका छन्। उनीहरूले जिल्ला अदालत रुकुम पश्चिमअगाडि खुसीसमेत व्यक्त गरेका छन्। आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। पीडित परिवार र दलित अधिकारकर्मीहरू जिल्ला अदालतको मूल गेटअगाडि न्यायको पर्खाइमा थिए। अन्ततः अदालतले न्याय दिएको पीडित परिवारले जनाएका छन्। २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज साथीहरूसहित प्रेमिकाको गाउँ गएका थिए।

मल्ल थरकी प्रेमिकासँग बिहे गर्न भनी उनी छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए ।सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

जन्मकैदको सजाय पाउनेमा तत्कालीन वडाध्यक्ष मल्ल, नवराजकी प्रेमिका भनिएकीका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), एक नाबालक (नाम गोप्य), डिल्ली मल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी (इर्दबहादुर ठकुरी), लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित मगर र विष्णु मल्ल छन्। उनीहरू हाल पुर्पक्षका लागि थुनामै छन्। जन्मकैदको सजाय सुनाइएहरूमध्ये एक जना पुर्पक्षबाहिर रहेका पनि छन्। ११ जना पुर्पक्षबाहिर रहेर तारेख खेपिरहेका थिए।

सोती घटनामा संलग्न ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो। सफाइ पाउनेमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्। मुद्दामा वादीहरूका तर्फबाट अधिवक्ता मोहन साशंकर, श्याम विश्वकर्मा, दिनेश त्रिपाठी, यामकुमारी डटेल, प्रकाश नेपाली, राम शर्मालगाायतले बहस गरेका थिए। आइतबारदेखि लगातार तीन दिन बहस चलेको थियो। 

प्रकाशित: २० मंसिर २०८० ००:४१ बुधबार

रुकुम पश्चिम चौरजहारी चौरजहारी नगरपालिका सोती गाउँ नरसंहार प्रकरण २४ जनालाई जन्मकैद न्यायाधीश खड्गबहादुर केसी