सुर्खेत – वीरेन्द्रनगरको संचयकोषदेखि मुलपानी चोकसम्मको तीन किलोमिटर फोरलेन सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द/श्याम एण्ड शंकर जेभीले अहिलेसम्म सबै ठाउँमा नाला निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। आउने असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरेर ठेक्का पाएको यो कम्पनीले फागुनदेखि कालोपत्रे गर्ने तयारी गरेको छ।
स्थानीयको अवरोध र सरोकारवाला कार्यालयले सहयोग नगर्दा समयमै कालोपत्रे हुने संभावना देखिँदैन्। पुरानो बसपार्कदेखि चाइनापुलसम्म स्थानीयको अवरोध छ। अरु ठाउँमा विद्युत प्राधिकरण, नेपाल टेलिकम र झुप्रा बृहत खानेपानी संस्थाले आफ्ना संरचना हटाएका छैनन्। ‘केही ठाउँमा स्थानीयको अवरोध छ, केहीमा सरकारी निकायले नै अवरोध गरिरहेका छन्’ फोरलेन सडकको ठेक्का पाएका पदमबहादुर खड्काले भने, ‘यस्तोमा काम गर्न समस्या भइरहेको छ।’
कुइनेपानी हुँदै बग्ने पानीले बर्खाको समयमा बौद्धिक टोल हरेक वर्ष जलमग्न हुन्छ। स्थानीयहरु माथिल्लो भागको पानी सडकमुनि आउन नदिने पक्षमा छन्। ‘माथिल्लो भागबाट आउने पानीलाई व्यवस्थित नगर्दासम्म हामी कल्भट बनाउन दिँदैनौं’ टोल विकास संस्थाका अध्यक्ष भानु खड्काले भने, ‘हामीलाई फोरलेन सडक भन्दा आफ्नो टोलको बढी चिन्ता छ।’ बौद्धिक टोलका स्थानीयहरु बाटोको दुबैतर्फ पक्की नाला बनाएर माथिल्लो भागबाट आउने पानीको निकास दिइनुपर्ने बताउँछन्।
कुइनेपानी मात्रै होइन्, मंगलगढीचोकदेखि इन्जिनियरिङ क्याम्पस लाइनको पानीको निकास यहीं ठाउँ हो। फोरलेन सडकका लागि कल्भट बनाइने तल्लो क्षेत्रमा वर्खाको बेला थप क्षति हुने उनीहरु बताउँछन्। स्थानीयको अवरोधका कारण बसपार्क क्षेत्रमा निर्माण कम्पनीले कुनै पनि काम गरेको छैन्। मंगलगढी चोकदेखि चाइना पुलसम्मको समस्या पनि उस्तै छ। स्टिमेट अनुसार दुबैतर्फ पक्कीनाला निर्माण गरिनुपर्ने हो। स्थानीयको अवरोधकै कारण यहाँ पनि पक्की नाला निर्माण भएको छैन्।
‘समयमै काम सम्पन्न गर्नका लागि स्थानीय बासिन्दा र सरोकारवाला निकायको सहयोग आवश्यक पर्छ’ खड्काले भने, ‘हामीले लिखित र मौखिक रुपमा अवरोध हटाइदिन आग्रह गरेपनि कुनै प्रगति भएको छैन्।’ फोरलेनमा स्थानीयको मात्रै अवरोध छैन्, सरकारी निकाय पनि त्यतिकै जिम्मेवार छन्। विद्युत, टेलिकमलगायतका कार्यालयले फोरलेन सडकमा पर्ने पोल र तार हटाएका छैनन्। ‘फोरलेनभित्र पर्ने विद्युत र टेलिकमका तारहरु हटाइदिन सडक डिभिजन कार्यालयमार्फत सरोकारवाला निकायलाई पत्राचार गरेका हौं’ खड्काले भने, ‘अहिलेसम्म कुनै सुनुवाई नै भएको छैन्।’
खड्काले आफूहरु समयमै काम सम्पन्न गर्न लागि परेपनि अवरोध नहट्दा समस्या भइरहेको बताए। उनले समयमै अवरोध नहटे केही ठाउँमा मात्रै कालोपत्रे गरिने बताए। स्वच्छन्द/श्याम एण्ड शंकर जेभीले संचयकोषदेखि मुलपानीसम्मको (दोस्रो चरण) फोरलेन सडक निर्माणका लागि २०७३ सायमा १४ करोड ४० लाख ४१ हजारमा ठेक्का लिएको थियो। पहिलो चरण अन्र्तगत धुलियाविटदेखि संचयकोषसम्मको सडक फोरलेन बनिसकेको छ।
प्रकाशित: २७ पुस २०७४ १५:४० बिहीबार