समाज

शीतलहर पीडितलाई न्यानो बाँड्दै धुर्मुससुन्तली

रौतहट – झण्डै तीन सातादेखि एक्कासी बढेको चिसोको कारण तराई मधेसका जिल्लाको जनजीवन अस्तव्यस्त हुन थालेपछि थप जनधनको क्षति हुन नदिन हाँस्य कलाकार धुर्मुस सुन्तलीले न्यानो बाँड्न थालेका छन्। 

पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोले सर्वसाधारणको ज्यान जान थालेपछि थप जनधनको क्षति हुन नदिनको लागि कलाकारद्वय धुर्मुस र सुन्तलीले पीडितको दैलोमै पुगेर न्यानो कपडा बाँड्न थालेका हुन्।  

प्रदेश नम्बर २ को बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरूमा बसोवास गरिरहेका अधिकांश पीडित परिवारको घर दैलोमा सार्वजनिक कार्यक्रमको आयोजना गरी न्यानो कपडा बाँड्न थालेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ।
 
कलाकारद्वय रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा नमुना बस्ती निमार्णको कार्यलाई समेत निरन्तरता दिँदै तराईका शीतलहर पीडितहरूलाई न्यानो कपडा बाँड्न व्यस्त देखिएका छन्।

उनीहरूले बिहीवार चन्द्रपुर नगरपालिकाको डुमरिया स्थित एकसय दलित, विपन्न परिवारलाई कम्वल वितरण गरेका छन्। प्रदेश नम्बर दुईको आठ वटै जिल्लाका अति गरिव तथा विपन्न अधिकांश मुसहर बस्तीमा पुगेर कम्बल  वितरण गरेको हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताए।

जनकपुर लगायत विभिन्न शहर तथा बजारहरूमा चिसोको समयमा सडक किनारमा रात बिताउनेहरूलाई समेत कम्बल वितरण गरेका छन्।

प्रकाशित: २७ पुस २०७४ १४:२४ बिहीबार

शीतलहर पीडितलाई न्यानो बाँड्दै धुर्मुससुन्तली