समाज

नवराज विक हत्या मुद्दामा २४ जनालाई जन्मकैदको आदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ।

गैर दलित प्रेमिका लिन गएका नवराज विकसहित ६ जनाको हत्यामा एक नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय भएको हो।

उक्त घटनामा संलग्न रहेका २३ पुर्पक्षका लागि कारागारमा थिए। बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, दुई वर्ष कैद ५० हजार जरिवाना हुनेछ। अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ।

दोषीहरुबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ। घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन्।

कैद सजाय पाउनेमा डम्बर बहादुर मल्ल, डिल्ली ठकुरी मल्ल, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल,सर्वजित भन्ने सवित मल्ल, परिवर्तित नाममा १ जना, परिवर्तित नाममा १ जना, तिलक चन्द, इन्द्र बहादुर भनिने इर्द बहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्क बहादुर मल्ल, विनोद मल्ल, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, धनाराज मल्ल, नविन कुमार घर्ती मगर, बिराज पुन मगर, भिम बहादुर पुन, रमित पुन र विष्णु मल्ल रहेका छन्। 

त्यसैगरी सफाइ पाउनेमा तुलाराम घर्ती, डिल्ली घर्ती,क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भिम बहादुर बुढा, इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द रहेका छन्।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए।

त्यस क्रममा सोती गाउँका गैर दलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। 

यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए।

उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए।

प्रकाशित: १९ मंसिर २०८० १३:१२ मंगलबार