समाज

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन

बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ।

बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषदहरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले बताए।

निर्वाचनअघि यही मङ्सिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ। ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट सङ्गठन (ओजम) र वाग्सका अन्तर्राष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ।

२०६८ सालमा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन। २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ।

नेपाल  स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन।

प्रकाशित: १९ मंसिर २०८० ०८:०७ मंगलबार

नेपाल स्काउट ऐन २०५० बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन