समाज

प्रअको हैसियतमा काम नगर्न आदेश

खोटाङ – उच्च अदालत ओखलढुंगाले खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविका प्रधानाध्यापक छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठतालाई मिचेर प्रअ नियुक्ति गरिएको भन्दै सोही विद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निवेदनउपर मुख्य न्यायाधीश टेकराज नेपाल र न्यायाधीस रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बुधबार प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको हो ।

विद्यालयमा कार्यरत शिक्षकमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रअ बनेर काम गर्ने उल्लेख भएअनुसार निवेदक रणबहादुरले दिएको निवेदनको टुंगो नलागेसम्म उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रअ छत्रकुमारलाई प्रअका रूपमा कामकाज गर्न बन्देज लगाइएको उच्च अदालतले जनाएको छ ।

वरिष्ठतालाई मिचेर प्रअ नियुक्ति गरेको भन्दै पुस २० गते जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष दीर्घसरा राई र प्रअ छत्रकुमारका नाममा कारण देखाउ आदेश जारी गरेको अदालतले अर्को निर्णय नभएसम्मका लागि प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो । विद्यालय प्रअका रूपमा कार्यरत जानुका राईले पुस १८ गते अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त पदमा वरिष्ठतालाई मिचेर छत्रकुमार राईलाई प्रअ नियुक्ति गरेको भन्दै परेको पुस १९ गते उच्च अदालतमा रिट परेको थियो ।

शिक्षा मन्त्रालय शिक्षा विभागको च. नं. ५५ को पत्रअनुसार निमित्त प्रअका लागि उल्लेख भएको नियमको खण्ड ‘ग’ र ‘घ’ अनुसार उच्च अदालतमा निवेदन पेस गरेको रणबहादुरले बताए । सम्बन्धित तह र श्रेणीको स्थायी नियुक्ति मितिको ज्येष्ठता वा सोभन्दा तल्लो तहको तह–श्रेणीको स्थायी नियुक्ति मितिको ज्येष्ठता वा सम्बन्धित श्रेणीको अस्थायी नियुक्ति मितिको ज्येष्ठतालगायतका आधारमा शिक्षको वरिष्ठता कायम गर्न २०७३ साल पुस १८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार शिक्षा विभागको विद्यालय शिक्षक व्यवस्थापन शाखाले २०७३ साल पुस २४ गते प्रत्येक जिल्ला शिक्षा कार्यालयलाई पठाएको पत्रअनुसार रणबहादुरले निमित्त प्रअका लागि पुस १२ गते निवेदन दिएका थिए ।

प्रकाशित: २७ पुस २०७४ ०२:५४ बिहीबार

प्रअको हैसियतमा काम नगर्न आदेश