समाज

सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि रकम फिर्ता

खोटाङ– सम्झौता अनुसाारको काम र पारिश्रमिक नपाएपछि कतारबाट फर्किएका दुई युवाले मेनपावर कम्पनीबाट लागत रकम फिर्ता लिएका छन् । नेपालमा भएको सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि ठगिएका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले जव लिंक मेनपावर कम्पनीबाट विदेश जानेक्रममा लागेको लागत रकम फिर्ता लिएका हुन्। 

१० महिना अघि कतारको स्नो ह्वाईट कम्पनीमा कारवासको कामका लागि गएका खड्काद्वयले सम्झौता बिपरितका काममा लगाएको र तलब पनि नियमित नदिएपछि स्वदेश फर्किएर लागत रकम फिर्ताका लागि मेनपावर समक्ष दाबी गरेका थिए। 

मेनपावर कम्पनीले लागत रकम फिर्ता दिन आलटाल गरेपछि दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्रको सहयोगमा खड्काद्वयले जनही ७० हजारका दरले मेनपावरबाट लागत रकम फिर्ता लिएका हुन्।

नपावरले लागत रकम फिर्ता दिन आलटाल गरेपछि उनीहरूले ठगीमा परेको भन्दै सूचना तथा परामर्श केन्द्रमा रकम फिर्ताका लागि सहयोग गर्न निवेदन दिएका थिए । विदेश जानेक्रममा मेनपावर कम्पनीलाई आइएमइ मार्फत रकम पठाएको भौचरका आधारमा सूचना केन्द्रले रकम फिर्ताका लागि पहल गरेको थियो। 

सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि दुबै पीडित गत मंसिरमा नेपाल फर्किएका थिए । 

प्रकाशित: २६ पुस २०७४ १०:०१ बुधबार

सम्झौता अनुसारको काम पारिश्रमिक नपाएपछि रकम