समाज

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

लहान – पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो। अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी तथा सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले जानकारी दिए।

यस्तै अत्यधिक चिसोको कारण सोमबार साँझ कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे। चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन्।

यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको ५ पाँच पुगेको छ । यसअघि गत आइतबार गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो।

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन्।

यसैबीच सिरहाको कर्जन्हा नगरपालिकाले आज वडा नं ६ र ७ का १२० विपन्न गरिब घरपरिवारलाई कम्बल वितरण गरेको छ। वडा नं ६ का ७० र वडा नं ७ का ५० अति विपन्न परिवारलाई कम्बल वितरण गरेको नगरपालिकाका प्रमुख गंगा पासवानले जानकारी दिए।

प्रकाशित: २५ पुस २०७४ १५:४१ मंगलबार

चिसोका कारण सिरहामा दुईको मृत्यु