समाज

पानी पार्न रतुडा मन्दिरमा पूजापाठ

बाजुरा – कात्तिक पछि पानी परेको छैन्। लगाएका अन्न तथा तरकारी बाली पानी नपाएर सुक्ने अवस्थामा पुगेका छन्। सिँचाई विना लगाईएको खेती सुक्न थालेपनि किसानहरु चिन्तित छन्।

सिँचाईको विकल्प नभएपछि धार्मिक विश्वास बोकेर पूजापाठ गर्ने र देवताकोमा गएर प्रार्थना गर्ने क्रम बढेको छ। पानी नपरे देउताकोमा गएर पूजा पाठ गर्ने, बाजा बजाउने यहाँको पूरानै संस्कार हो। त्यसै अनुरुप मंगलबार मार्तडीमा रहेको मन्दिरमा पनि पूजा पाठ गरिएको छ। पूजापाठ गरे र बागा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने स्थानीयको धार्मिक विश्वास छ।

पानी नपरे अन्नबाली सुकेर सखाप हुने र जनलोकमा ठूलै संकट आउने हुँदा भगवानको पूजा पाठ र प्रार्थनाले अनिष्ट र संकट टर्ने विश्वास स्थानीयको छ। लगातार लामो समयसम्म पानी नपरे यहाँका स्थानीयले वर्षेनी पूजा पाठ गर्ने गर्दछन्।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालयको परिसर र प्रशासन कार्यालयको अगाडि रहेको रतुडा मन्दिरमा स्थानीयले पूजा पाठ गरेका छन्। बाजागाँजासहित शंखघण्ट बजाएर पानी पारिदिन स्थानीयले प्रार्थना गरेका थिए।

बडिमालिका नगरपालिका ८ र ९ नम्बर क्षेत्रका स्थानीयले दिनरात मन्दिरमा जागराम बस्ने, बाजा बजाउने, शंखघण्ट फुक्ने, धामी फुकाउने जस्ता गतिविधि गर्ने गरेको स्थानीय जयबहादुर अयडीले बताए। इन्द्रलोकमा भगवान इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रही आएकोले त्यसै अनुरुप बाजा बजाउने र पूजा पाठ गर्ने गरिएको अयडीको भनाई छ।

रतुडा मन्दिरको पुजा पाठले सृष्टीको रक्षा र जीव जन्तुको संरक्षणका लागि ठूलो सहयोग पुग्ने धार्मीक मान्यता अनुसार नै पूजापाठ गर्ने गरिएको मन्दिरका धामी रामचन्द्र अयडीले बताए। अयडीले पूजापाठसँगै देउवा समेत फुकेका छन्।

सबैको अनुरोधले भगवानलाई खुसी पार्नु पर्ने र इन्द्र भगवानले माथिबाट कल्याण गर्ने गरी पानी पारिदिने गरेकोले यो वर्षपनि पूजापाठ गरिएको सोही मन्दिरका धामी अयडीले बताए। इन्द्र भगवान रिसाउनु भएको छ, उहाँलाई खुसी पार्न बाजा बजाएर हो, स्थानीय गज दमाईले बताए।

रतुडा मन्दिरमा दमाई समुदायले बाजा बजाउने, अयडीहरुले पूजापाठ गर्ने र अन्य रावल थापा, विष्टहरुले प्रार्थना गर्ने गरेका छन्। पानी पर्दा जिल्लाको जमिनकै सुख्खा भइसकेकोले पूजापाठपछि पानी पर्ने विश्वास उनीहरुको छ।

जिल्लाको ७० बढी प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती गर्ने गरिएको छ। भिरालो जमिन र सबै खेतहरुमा सिँचाई सुविदा नहुँदा खडेरीले वर्षेनी ठूलो मात्रामा क्षति हुने गरेको छ। जसका कारण किसानले खेतबारीमा छरेको बीउ समेत जोगाउन अप्ठेरो हुने गरेको छ।

प्रकाशित: २५ पुस २०७४ १४:२१ मंगलबार

पानी पार्न रतुडा मन्दिरमा पूजापाठ