समाज

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम – रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ।

मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले एसईई परीक्षाको पूर्व तयारीको लागि जिल्लामा परीक्षा सञ्चालन गर्न र त्यसको अभिलेखीकरण गर्नको लागि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लालबहादुर घर्तीको संयोजकत्वमा १० सदस्यीय एक समिति समेत गठन गरेको छ। साथै जिल्लाको शैक्षिक सुधारमा बृद्धि गर्नको लागि कक्षा १ देखि नै कम्तीमा तीनवटा विषयको अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र शैक्षिक सुधारको लागि ठोस कार्ययोजना निर्माण गरेर प्रगति विवरण जिल्ला शिक्षा कार्यलयमा जानकारी गराउने निर्णय भएको छ।

जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कँुवरको अध्यक्षतामा भएको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक सुधारमा बृद्धि गर्नको लागि कमजोर विद्यार्थीको लागि न्यूनतम शुल्कमा थप कक्षा सञ्चालन गर्न विद्यालयलाई अनुमति समेत दिएको छ।

साथै जिल्लामा लामो समयदेखी हुननसकेको शिक्षकहरुको विषयगत दरबन्दी मिलान गर्ने भएको छ। जिल्लामा दरबन्दी मिलान नहुँदा समस्या भएको गुनासो आएपछि विषयगत शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय भएको हो।

प्रकाशित: २५ पुस २०७४ १३:२६ मंगलबार

कक्षा को परीक्षा शिक्षा कार्यालयमा