समाज

रुकुममा मारिएका ६ जना युवाको मुद्दामा आजदेखि सुनुवाइ

रुकुम जिल्ला अदालतमा अन्तरजातीय विवाह सम्बन्धी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको छ। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

विवाहकै विषयमा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा त्यहाँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो। मुद्दामा सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गर्देछन्। मुद्दाको लगातार सुनुवाइ भएपछि जिल्ला अदालतले फैसला सुनाउनेछ।

२०७७ जेठ १० गतेको घटना हो। जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवतीलाई बिहे गर्न भनी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँ पुगेका थिए। त्यसै समयमा नवराजसहित उनका साथीहरूलाई गाउँलेले लखेटेर ६ जनाको सामूहिक हत्या गरेका थिए।

घटनामा लोकेन्द्र सुनार, टीकाराम सुनार, गोविन्द शाही, गणेश बुढा, सन्दीप बिकलाई गाउँलेले हत्या गरी भेरी नदीमा बगाएका थिए। घटनामा १२ जना घाइते भएका थिए।

घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दर्ता भएको थियो। घटनाका २३ जना आरोपितहरू पुर्पक्षका लागि थुनामा रहेका छन्। त्यस बेला पक्राउ गरिएका ११ जनालाई भने तारेखमा छाड्न अदालतले आदेश दिएको थियो।

बर्बर घटनाको त्यस समयमा चौतर्फी विरोध भएको थियो। त्यसपछि तत्कालीन सरकारले घटनाको छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरेको थियो। समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो।

प्रकाशित: १७ मंसिर २०८० ०८:०६ आइतबार

रुकुम जिल्ला अदालत सोती गाउँ नवराज विक