पोखरा –मनाङको चामेस्थित ओम डेभलपमेन्ट बैंककी शाखा प्रबन्धक खरीमाया गुरुङ सोमबार दिउँसो बजार डुल्दै थिइन् । बजार घुम्दै गर्दा उनले पानीको तीनवटा पाइप फुटेको देखिन् । पाइप फुटेर निस्किएको पानी समेत जमेको देख्दा उनले तस्बिर नखिचि बस्नै सकिनन् ।
मनाङमा पानी जमेको देखेको यो उनका लागि पहिलो अनुभव त थिएन, तर, पाइप फुटेर निस्केको पानी समेत जमेको देख्दा गुरुङ आफै अचम्मित भईन । ‘बजार घुम्दै जाँदा तीनवटा पाइप फुटेर पानी निस्केको रहेछ । त्यही पानी पनि जमेको थियो,’ उनले नागरिकन्यूजसँग भनिन्, ‘आफै अनुमान गर्नुस, चिसो कति थियो होला भनेर ।’ उनका अनुसार चिसोले पाइपमा पानी जमेर घरघरमा खानेपानीको अभाव त हुन्छ नै खोला समेत जमेको थियो । खोलामा बगेको पानी समेत जमेपनि बजारमा खानेपानी अभाव भएको उनले बताईन ।
‘पानी तताएर पाइपमा पोखेर बल्ल घरका लागि खानेपानी जोहो गर्यौं,’ उनले भनिन्, ‘धारामा पानी झरेन । अनि पाइपलाई तातोपानी खनाइदियौं । त्यही तातोले पाइपको पानी पग्लेर धाराबाट खस्यो ।’ उनका अनुसार मनाङमा यो सिजनमा वर्षैपिच्छे पानी जम्छ । तर, खोला नै हत्तपत्ति भने जम्दैन । तर यो पटक अधिक चिसोले खोलाको पानी समेत जमेको उनले बताइन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार सोमबार चामेको तापक्रम माइनस १६ डिग्री थियो । ‘रातीमा माइनस १६ त सधैं हुन्छ । दिनमा केही कम हुन्छ,’ पन्तले भने, ‘यो पटक त खोला नै जम्यो । पानीको ट्यांकी जमेर वितरण गरिएका पानी समेत धारोमा जान पाएन ।’ पन्तका अनुुसार जमेर रोकिएको पानी निकाल्न पाइपमा तातोपानी खनाइदिए पछि बल्ल पाइप खुलाउने गरिएको छ ।‘पाइपमा तातोपानी खनाउँदा पनि धारा खुलेन भने ट्यांकीमा जमेको बरफ बाहिर निकाल्ने र तातोपानी खनाइदिने गरिएको छ,’ प्रजिअ पन्तले भने, ‘बरफ तताएर पानी बनाउने हो ।
ट्यांकीमा जमेको बरफको डल्ला पगाल्न पनि सहज छैन ।’ उनका अनुसार मंगलबार दिउँसो घाम लागेकोले सदरमुकाम चामेमा केही तातो अनुभव भएपनि चिसो अधिक नै छ । चिसोले जमेका कारण रातीमा धारामा पानी नआउने भएपनि दिनमा थापेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।‘मंगलबार दिउँसो घाम लागेकोले चिसो केही घटेको होला । नत्र हिउँ नपर्दा पनि यहाँको अवस्था नाजुक छ,’ प्रजिअ पन्तले भने, ‘हिउँ परेको खण्डमा अझै चिसो बढ्न सक्छ ।’ चिसो अधिक भएपछि कार्यालयमा सुनसान रहेको उनले बताए । ‘कि त आगो तापेर बस्नुपर्यो, नत्र क्वार्टरमा सिरकमुनी गुजुल्टिनको विकल्प छैन,’ उनले भने, ‘कार्यालयमा सेवा लिन पनि निकै नै कम मान्छे आउँछन् । जाडोका कारण चहलपहल पनि छैन । मनाङका आधा मान्छे चिसो छल्न जिल्लाबाहिर झरिसकेका छन् ।’