काठमाडौं – भूकम्पले क्षपितग्रस्त दरबार हाइस्कुल पुनर्निर्माण अन्यौलामा परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो विद्यालय भवन ऐतिहासिक भएकाले आधुनिक निर्माण सामग्री प्रयोग नगरी निर्माण गर्नुपर्ने सुझाव पुरातत्व विभागले दिएपछि निर्माण अलपत्र परेको हो ।
सोमबार शिक्षा मन्त्रालयमा चिनियाँ प्रतिनिधीसँगको भेटमा यसबारेमा छलफल भएको स्रोतले बताएको छ । ‘मन्त्रीसँगको छलफलमा चीनियाँ प्रतिनिधिले नेपालमा सुरु गर्ने २५ परियोजनामा सबैभन्दा ठूलो परियोजना नै दरबार स्कुल रहेको बताउँदै सिमेन्ट तथा रडको प्रयोगबिना सुरक्षित निर्माण गर्न नसकिने धारणा राखेका छन्,’ शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई निर्देशक इमानारायण श्रेष्ठले भने, ‘पुरातत्वले स्वीकृत नदिने हो भने अर्को वर्ष दरबार स्कुलमा विद्यार्थीले पढ्न पाउने छैनन् ।’
राज्यले जतिसक्दो छिटो चीन सरकारलाई दरबार स्कुल पुनर्निर्माणको बाटो सहज गरिदिनुपर्ने उनको आग्रह छ । उनले हाल पुरातत्वले क्षतिग्रस्त स्कुल भवन भत्काउनसमेत नदिँदा समस्या बढेको जनाए ।
चीन सरकारले सन् २०१७ को अन्तमा स्कुल पुनर्निर्माण कार्य थाल्ने सहमति नेपाल सरकारसँग गरेको थियो । चीन सरकाराले चार ताले भवनको डिजाइन तयार गरी पुरातत्व विभागमा पेश गर्दा प्राचीन सामग्री र स्वरूपमा भवन बनाउन विभागले सुझाव दिएको हो । चीन सरकारले ७५ करोड लगानीमा स्कुल पुनर्निर्माण गर्ने र डिसेम्बर २०१७ देखि काम थाल्ने तय भएको थियो ।
सरकारी वेवास्ताका कारण स्कुलको इतिहास अगामी वर्षदेखि नै मेटिने अवस्थामा पुगेको चिन्ताले स्कुलका प्रिन्सिपल हेमचन्द्र महतोलाई पिरोलिरहेको छ । ‘चीन सरकाराले तयार पारेको नक्सामा हामीले पुरातत्वसँग स्वीकृत माग्दा रड र सिमेन्ट प्रयोग गर्न नपाइने कुरा आयो । बनेको डिजाइन पनि अस्वीकृत भयो,’ महतोले नागरिकसँग भने, ‘पुरातत्वले स्वीकृति नदिएपछि काठमाडौं महानगरपालिकाले नक्सा पास गरिदिएन । सरकारको वेवास्ताका कारण अन्योल उत्पन्न भयो । यो वर्ष बल्लतल्ल अभिभावकलाई विश्वास दिलाएर भानुमावि र संस्कृत मावि गरी कुल तीन सय विद्यार्थीलाई अध्यापन गराउँदै आएका थियौं । तत्काल पुनःनिर्माण सुरु नभए अगामी शैक्षिक सत्रमा अभिभावकले विद्यार्थी भर्ना गर्दैनन् ।’
उता महानगरपालिकाका कार्यकारी अधिकृत धनिराम शर्माले स्कुलले पेश गरेको नक्सा पास गर्ने कागजातमा पुरातत्वको स्वीकृतको कागजात नभएकाले अड्किएको जनाए । ‘सय वर्ष भन्दा बढी इतिहास बोकेको भवनमा पुरातत्वको स्वीकृति अनिवार्य चाहिन्छ,’ अधिकृत शर्माले नागरिकसँग भने, ‘महानगरको कारण नभएर पुरातत्वको कारण नक्सापासको काम रोकिएको हो ।’
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले दरबार स्कुल डेढ सय वर्षभन्दा पनि पुरानो भवन भएकाले यसको संरक्षण गर्ने जिम्मेवारी पुरातत्वको रहेको बताउँदै उनले पुरानै स्वरुपमा प्राचीन निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने जनाए ।
‘पुरातत्व विभागले चीन सरकारको डिजाइन आधुनिक भएकाले पुरानै स्वरूप र निर्माण सामग्री प्रयोग हुने डिजानइ माग गरेको छ,’ प्रवक्ता कुँवरले नागरिकसँग भने, ‘पुरातत्वको मापदण्ड अनुसार डिजाइन नमिलेकाले पुरातत्वले अस्वीकृत गरेको हो ।’
प्रकाशित: २५ पुस २०७४ ०४:३० मंगलबार