समाज

दीर्घजीवनका लागि १३ अर्ब पुरस्कार !

यस्तो पनि!

फाइल तस्वीर

अबका केही शताब्दीमा शताब्दीभन्दा बढी बाँच्नेहरूको संख्या अनौठो तरिकाले बढी हुने देखिएको छ। कतिपय विकसित मुलुकमा १०० वर्ष उमेर पूरा हुनु सामान्य भइसक्यो। जापान, इटाली तथा अन्य केही मुलुकले त अहिले नै ‘बूढा मुलुक’को उपनाम पाइसकेका छन्।

उचित खानपान, नियमित शारीरिक अभ्यास तथा प्राणघातक रोगको समुचित उपचार विश्वव्यापी हुन थालेपछि शताब्दी पुरुष–महिलाको संख्या बढ्नु स्वाभाविक हो।

वृद्धावस्थाका कयौं समस्याहरू समाधान गर्न सके, शताब्दी उमेरबाट मान्छेहरू उकालो लाग्ने थिए भन्ने मान्यताका साथ एउटा समूह भने वृद्धावस्थाका अनेकन् समस्या सुल्झाउने प्रयासलाई पुरस्कृत गर्न थालेको छ।

वृद्धावस्था रोक्ने प्रविधिका खोजहरूलाई प्रेरित गर्ने र मानिसको उमेर लम्ब्याउने जुनसुकै खोजका लागि अमेरिकी गैरनाफामूलक कम्पनी एक्स प्राइजले ‘१०१ मिलियन डलर’को पुरस्कार स्थापना गरेको छ।

खासगरी ६५ वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्ति लक्षित उपचार सामग्री आविष्कार गर्नेहरूलाई यो पुरस्कार प्रदान गर्ने बताइएको छ।

१३ अर्ब ४६ करोड १३ लाख २० हजार चार सय रूपैयाँको यो पुरस्कार प्राप्त गर्ने आविष्कारले कम्तीमा मानिसको उमेर १० वर्ष पछाडि धकेल्नुपर्ने तथा यो उपचार कम्तीमा एक वर्ष वा कम समयको हुनुपर्ने बताइएको छ।

लण्डन बिजनेस स्कुल तथा अक्सफोर्ड अनि हार्वर्ड विश्वविद्यालयहरूले गरेको एउटा अध्ययनअनुसार संसारभर एक वर्ष स्वस्थ जीवन बाँच्नका लागि संसारभर ३८ ट्रिलियन डलर खर्च हुने गर्छ। यो नयाँ आविष्कारले यस्ता खर्च कम गर्न भूमिका खेल्ने हुनाले तिनलाई हौस्याउनुपर्ने पनि पुरस्कार एक्स प्राइजले जनाएको छ।

एक्स प्राइजका संस्थापक पिटर डायमन्डिज हुन्। एक्स प्राइज फाउन्डेसनका उनी संस्थापक तथा कार्यकारी अध्यक्ष हुन्। उनले ‘अबन्डेन्स’ र ‘बोल्ड’ बेस्टसेलर पुस्तकसमेत लेखेका छन्।

 हार्वर्ड विश्वविद्यालयमा चिकित्सा अध्ययन गरेका उनले दीर्घजीवन, अन्तरिक्ष, भेन्चर क्यापिटल तथा शैक्षिक क्षेत्र लगायत २० वटा कम्पनीमा ठूलो लगानी गरेका छन्। उनको सेलुलारिटी नामक थेरापी कम्पनी संसारभर प्रख्यात छ।

पिटरको यो अभियानले साँच्चिकै मानिसहरू १०० वर्ष बढी बाँच्ने नयाँ नयाँ आविष्कार जन्माउला त? हेर्न रोचक हुनेछ।

प्रकाशित: १७ मंसिर २०८० ०१:०५ आइतबार

एक्स प्राइजका संस्थापक पिटर डायमन्डिज दीर्घजीवनका लागि १३ अर्ब पुरस्कार !