समाज

भूकम्पपीडितलाई एक लाख सहयोग

रौतहट रेडक्रसले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गरेको छ। नेपाल रेडक्रस रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादवले रेडक्रसको मधेस प्रदेश शाखालाई भूकम्पपीडित सहयोगार्थ एक लाख ११ हजार १०१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

रौतहट शाखाले प्रदान गरेको सहयोग राशिको चेक बुझ्दै मधेस प्रदेश शाखा सदस्य राम अधार राय यादवले प्रदेशको आठ जिल्लाका रेडक्रसले प्रदेश शाखालाई रकम हस्तान्तरण गरिसकेको बताएका छन्। प्रदेश बैठकले यथाशीघ्र निर्णय गरेर सहयोग रकम केन्द्रमा पठाइने यादवको भनाइ छ।

मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी रकम रौतहट जिल्लाले भूकम्पपीडितलाई सहयोग गरेको छ। आफ्नै पहलमा रकम संकलन गरी सहयोग हस्तान्तरण गरिएको शाखाका मन्त्री धर्मेन्द्रकुमार सिंहले जानकारी गराएका छन्।

सो अवसरमा मधेस प्रदेशका कार्यालय अधिकृत उमेश मिश्र तथा पर्सा शाखाका उपमन्त्री सबिर अहमदसमेतको सहभागिता थियो।

प्रकाशित: १६ मंसिर २०८० ०७:१० शनिबार

भूकम्प पीडित सहयोग नेपाल रेडक्रस रौतहट