समाज

जुम्ली समाज: पहिला आत्मनिर्भर, अहिले परनिर्भर

त्यो बेलाको जुम्लाको वर्णन गर्दै धनबहादुर बुढा। तस्बिर: गोल्डेन/नागरिक

जिल्लाको सिंजा गाउँपालिका–४, माथिल्लो गोठी गाउँका धनबहादुर बुढा उमेरले ५९ वर्षका भए। स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहेनत उनले भुल्न सकेका छैनन्। उनी भन्छन्, ‘पहिले हाम्रो जुम्ली परिवेश निकै आत्मनिर्भर थियो, अहिले परनिर्भरता बढ्दै गएको छ।’

बुढाका अनुसार जुम्ला पहिले लुगामा आत्मनिर्भर थियो, खाने चिज आयात गर्नुपर्ने अवस्था थिएन, पशु चरन क्षेत्र पर्याप्त थियो, घरवरिपरि घना जंगल हुन्थ्यो तर अहिले आयातित लत्ताकपडा र खाद्यान्नले स्थानीय उत्पादन घट्दै गइरहेको छ।

उनले भने, ‘विगतमा प्रत्येक गाउँ–गाउँमा भेडापालन गरिन्थ्यो। भेडाबाख्राको ऊनबाट बाक्लो बक्खु, स्विटर, टोपी, मफलर, मोजा, पन्जालगायत लुगा बुनिथ्यो। ती लुगा निकै न्याना र बलिया हुन्थे। चिसो र तातो दुवै मौसममा लगाउन अनुकूल मानिन्थ्यो।’

बुढाका अनुसार नुनमा भने पहिला पनि जुम्ला परनिर्भर थियो, नुन ल्याउन एक महिना लगाएर नेपालगन्जसम्म पुग्नुपर्थ्याे, भेडा लिएर नुन ल्याउन भोटतिर पनि जान्थे जुम्ली। तेलका लागि गाउँमै तोरी फलाइन्थ्यो।

फर्सी (कद्दु), भागो, आरु, ओखर, सूर्यमुखी र ढटेलोबाट तेल निकालिन्थ्यो। फापर, कागुनो, चिनो, मार्से, कोदोजस्ता स्थानीय रैथाने बाली लगाइन्थ्यो।

उनले भने, ‘जुम्लाका मानिसले लगाउने लुगा धेरै ठाउँमा टालेका हुन्थे तर टालेको प्रत्येक टालोभित्र रूपैयाँ राखिन्थ्यो। यसले जुम्ली त साहु (धनी) हुन्छन् भन्ने सन्देश जान्थ्यो।’ यी सबै कुरा अहिले सपनाजस्तै भएको बुढा बताउँछन्।

बुढाका अनुसार जुम्ली समाज पहिला अनुशासित थियो। विगत स्मरण गर्दै उनले भने, ‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागीदार भइन्थ्यो। ऊ बेला सामान्य गल्ती गरे पनि राताघर लान्छन् भने कुराले समाजमा एक प्रकारको अनुशासन, इमान थियो।

’पहिले अन्न बेच्थ्यौं, अहिले किन्छौं। विदेशी कपडा र खाद्यान्न आउन थालेपछि जुम्लाको पहिचान बोकेका लुगाफाटो र खानेकुरा हराउँदै गए।

-धनबहादुर बुढा, सिंजा–४

तर अहिले भ्रष्टाचार गाउँगाउँमा मौलाएको, धार्मिक परम्परा र समाज पनि विभाजित हुँदै गएको उनले बताए।

अहिले १० कक्षा पास हुनेले कृषि कर्म गर्न अप्ठेरो मान्ने गरेको र त्योभन्दा माथि पढ्नेले जन्मथलो छाडेर जान थालेको उनले बताए। उनी भन्छन्, ‘खेती हुने जग्गा छ तर पानीका मुहान सुक्दै जान थालेका छन्। पहिला यहींका मानिसले ठेटुवाको लुगा बुन्थे। पटुकादेखि बक्खु, सुरुवाल स्थानीय उत्पादन ऊनकै हुन्थे। तर ती कपडा अहिले देखिन छाडे। विदेशी कपडा र खाद्यान्न आउन थालेपछि जुम्लाको पहिचान बोकेका लुगाफाटो र खानेकुरा हराउँदै गए।’

उनका अनुसार खेती नगर्दा स्थानीय उत्पादन घट्दै गएको छ, उत्पादन घटेसँगै गरिबी सुरु भएको छ। उनले भने, ‘फापरको रोटी, आलु, मकै, सिमी त्यो समयका लोकप्रिय खानेकुरामा गनिन्थे। तिनै खानेकुरा खाएर मानिस ९० देखि सय वर्षसम्म बाँच्थे। घरेलु औजारले भौतिक पूर्वाधार निर्माणदेखि खेतीकिसानीसम्मको काम हुन्थ्यो।’ उनले अगाडि थपे, ‘पहिले अन्न बेच्थ्यौं, अहिले किन्छौं।’

पहिला गाउँमा धेरै पढेका मान्छे कम थिए तर अहिले पढेकाले गाउँ छाड्न थालेको उनले बताए। उनका अनुसार सामान्य तमसुक, चिठी लेख्न र पढ्न सक्ने मान्छेले समाजको अगुवाइ गर्थे। उनले भने, ‘अहिले घरघरमा ठालु, गाउँगाउँमा नेता–कार्यकर्ता जन्मिएका छन्। पुराना संस्कार, संस्कृति र मूल्यमान्यता मान्न छाडिएको छ।’

बुढाको अनुभवमा समय र परिस्थिति बदलिँदै जाँदा समाजको गति र मति पनि प्रभावित बन्दै गएको छ। उनका अनुसार त्यो बेला प्रत्येक घरले हुलाक बोक्ने प्रचलन थियो, कटुवाले (चौकीदार) प्रथा थियो।

त्यस्तै गाउँमा आउने कर्मचारीलाई हरेक घरले आलोपालो गरेर खाना खुवाउँथे, जनता र कर्मचारीको सम्बन्ध निकै प्रगाढ हुन्थ्यो तर अहिले कर्मचारीले नै अनियमितता गर्छन्। सरकारी कामकाजका लागि हिँडेर सदरमुकाम जानुपर्थ्याे। सामान्य तमसुक लेख्न सके जागिर मिल्थ्यो। उनले भने, ‘छोरी जन्मँदा हेलाको पात्र भइन्थ्यो। अहिले छोराछोरी बराबरी भन्छन्। छोरीलाई सम्पत्ति दिने चलन बस्यो, जुन राम्रो पक्ष हो।’

प्रकाशित: १६ मंसिर २०८० ०१:०५ शनिबार

पहिला आत्मनिर्भर अहिले परनिर्भर सामान्य तमसुक लेख्न सके जागिर मिल्थ्यो