समाज

जाडोका कारण रौतहटमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

रौतहट- अत्यधिक जाडोका कारण रौतहटमा आइतबारसम्म पाँचजनाको मृत्यु भएको छ। शनिवार राती सुतेकै अवस्थामा ओछ्यानमै कठांग्रिएर दुईजनाको मृत्यु भएसँगै जाडोले मृत्यु हुनेको संख्या पाँच पुगेको हो। शनिवार राती परोहा नगरपालिका २ जिंगडवाका ४५ वर्षका शेख समिम र ९ रामपुरखापका ६५ वर्षीया मरठियादेवी कुर्मीको अत्यधिक जाडोले कठांग्रिएर ओछ्यानमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसअघि राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव, गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम र सर्लाही घर भई गढीमाई नगरपालिका १ समनपुरमा संचालित इँटा उद्योगमा कार्यरत ५५ वर्षका नेक महम्मद अलीको जाडोकै कारण कठांग्रिएर मृत्यु भइसकेको छ।

लगातारको शीतलहरले रौतहटको जनजीवन अत्यन्त कष्ठकर भएको छ। दिनभरि घाम नलाग्ने र बाक्लो हुस्सु लाग्नुका साथै पश्चिमा चिसो हावा चलिरहनाले जनजीवन प्रभावित भएको हो। जनजीवनको सबै क्षेत्रमा जाडोले प्रभाव जमाएको छ।

जाडोबाट जोगिन प्रायः स्थानीय तह, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य संघसंस्थाबाट ठाउँ ठाउँमा दाउराको व्यवस्था भइरहेको छ भने विभिन्न संघ संस्थाद्वारा विपन्न तथा दलित बस्तीमा कम्बल बाँड्ने काम पनि भइरहेको छ।

अहिले अत्यन्त जाडो बढेकोले स्थानीय प्रशासनको ध्यान जाडोबाट हुने क्षतिलाई न्यून गर्नतिर गएको रौतहट प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन्।

प्रकाशित: २३ पुस २०७४ १४:३५ आइतबार

जाडोका कारण रौतहटमा मृत्यु हुनेको संख्या पुग्यो