समाज

रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्दो

जनावरहरूको टोकाइपछि हुने रेबिज रोगविरुद्धको खोप लगाउनेको संख्या विराटनगरको कोसी अस्पतालमा बढ्दो रहेको छ।  

सामुदायिक कुकुर, बिरालो, बाँदर र घर पालुवा कुकुरको टोकाइबाट मानिसमा हुनसक्ने रेबिज रोगविरुद्धको खोप लगाउनेको संख्या कोसी अस्पतालमा दैनिक बढ्दो रहेको अस्पताल प्रशासनले जनाएको छ। जङ्गलबाट गाउँ बस्तीमा पसेर बाँदरहरूले टोक्ने, तिछार्ने, सामुदायिक कुकुर, बिरालोले मात्रै नभई घरमा पालेका जनावरले पनि मानिसलाई टोक्ने र त्यसबाट हुनसक्ने रेबिज रोगविरुद्धको खोप लगाउन विभिन्न उमेर समूहका मानिसहरू अस्पताल आउने गरेको पाइएको छ।

कुकुर, बिरालो, बाँदरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दो रहेको बताउँदै, कोसी अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले भने, ‘विभिन्न उमेर समूहका व्यक्तिहरू दैनिक जनावरले टोक्यो भन्दै रेबिजको खोप लगाउन आउनेको संख्या बढेको छ। अस्पतालले रेबिजविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएकाले पनि प्रदेशभरका मात्रै नभई छिमेकी मुलुक भारतबाट समेत यो खोपको सेवा लिन आउने गरेको पाएका छौँ।’

यस आर्थिक वर्षको कात्तिक महिनासम्म १ हजार ६ सय ७३ जनाले खोपको सेवा लिइसकेको बताउँदै, अस्पतालमा रहेको रेबिज खोप (भ्याक्सिन) वार्डकी इन्चार्ज नर्वदा रजकले भनिन्, ‘यो सेवा लिनेको हाल दैनिक बढ्दो संख्यामा रहेको छ। कुकुर, बिरालोका साथै गाउँहरूबाट बाँदरले समेत टोकेका बिरामीहरू खोप लगाउन आउने गरेका छन्। अस्पतालले निःशुल्क खोपको व्यवस्था गरेकाले यहाँका मात्र नभई भारतबाट समेत बिरामीहरू आउने गरेका छन्।’

छठ पूजामा सडकमा रहेका कुकुरले बालबालिकाहरूलाई टोकेर खोप लगाउनेहरूको संख्या बढेको रजकले बताइन्। उनका अनुसार यस पटकको छठ पूजामा दैनिक ४० देखि ४५ जनासम्म नयाँ बिरामीहरू खोप  लगाउन आएका थिए। अस्पतालमा बाँदरले टोकेर खोप लगाउन आउनेको संख्या पनि बढ्दो छ। बाँदरले टोकेर खोप लगाउन आउने संख्या ५ जनासम्म पुग्ने गरेको छ। रेबिजविरुद्धको खोप लगाएको ३ महिनाभित्र जनावरले पुनः टोक्यो भने खोप लगाउन नपर्ने रजकले बताइन्। त्यसपछि जनावरले टोके बुस्टर जोडका रुपमा २ पटक खोप लगाउनुपर्ने उनले भनिन्।  

रेबिज रोकथामको खोप पर्याप्त रहेको अस्पतालमा रेबिज इम्युनोग्लोबोलिन लगाउने कार्य भने रोकिएको छ। असोज १४ गतेबाट अस्पतालमा इम्युनोग्लोबोलिन सकिए र स्वास्थ्य मन्त्रालयसँग १० हजार भायल भ्याक्सिन माग गरेको अस्पताल प्रशासनले जनाएको छ। साउनमा ५ सय ४६, भाद्रमा ३ सय ७९, असोजमा ३ सय ७५ र कात्तिकमा ३ सय ७३ जनाले रेबिजविरुद्धको खोप लगाएका छन्। जसमा ६ सय ५७ महिला र १ हजार १६ जना पुरुष छन्। ८७ महिला १ सय १३ जनाले रेबिज इम्युनोग्लोबोलिन लगाएको अस्पताल प्रशासनले जनाएको छ। 

प्रकाशित: १४ मंसिर २०८० १५:११ बिहीबार

रेबिज खोप