समाज

चार उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरू

उच्च अदालतका चारवटा इजलासमा आजदेखि श्रव्य दृश्यमार्फत सुनुवाइ प्रारम्भ भएकाे छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वाेच्च अदालतबाट  श्रव्य दृश्यमार्फत सुनुवाइ कार्यक्रमकाे आज उद्घाटन गरेका छन्।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमार्फत इजलास थालिएकाे बताए। प्रविधिमार्फत नजाेडी नहुने समय आएकाे, नेपालकाे भूधरातलीय स्थिति न्यायमा पहुँच पुराउने उद्देश्यले थालिएकाे बताए। 

'छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फत न्यायमा पहुँच हाेस्' प्रधानन्यायाधीश श्रेष्ठले भने।  

उच्च अदालत जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटाैंडा इजलासबाट श्रव्य दृश्यमार्फत मुद्दाको सुनुवाइ थालिएको हाे। यसअघि दीपायल र इलाम उच्च अदालतबाट मुद्दामा श्रव्य, दृश्यमार्फत बहस शुरू गरिएकाे थियाे।  

अबदेखि सम्बन्धित कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर ती चार उच्च अदालतका इजलासमा मुद्दाको बहस गर्न सक्नेछन्।  

निश्चित मुद्दामा सम्बन्धित मुद्दाका सराेकारवालाले पासवर्ड र आइडी पाउनेछन्। त्यसपछि जुममार्फत कानुन व्यवसायीले बहस पैरवी गर्न सक्नेछन्।

सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी आजदेखि मुद्दाका सराेकारवालाले अनलाइनमै हेर्न र सुन्न मिल्नेगरी मुद्दाको सुनुवाइ थालिएको जानकारी गराएको हाे।  

ताेकिएका चारवटा इजलासमा अबदेखि भिडियो कन्फेरेन्स मार्फत कानुन व्यवसायीकाे बहस पैरवी मुद्दाका वादी, प्रतिवादीले प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ।  

सर्वाेच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वाेच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ। काेभिडकाे समयदेखि नै सर्वाेच्च अदालतमा श्रव्य, दृश्यमार्फत बहस पैरवी थालिएकाे थियाे।

प्रकाशित: १४ मंसिर २०८० ०६:४१ बिहीबार

उच्च अदालत इजलास श्रव्य दृश्य प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वाेच्च अदालत