समाज

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको हो।  

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बसमा सवार ३६ जना मध्ये २ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको बताए। उनले घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पोखरा पठाइएको पनि जानकारी दिए।  

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको उनले बताए।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १३ मंसिर २०८० ०२:०९ बुधबार

तनहुँ बस दुर्घटना २ जनाको मृत्यु