समाज

भुटानी शरणार्थी प्रकरण मुद्दा एक सातादेखि सुनुवाइमै

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई उच्च अदालत पाटनमा आज पनि हेर्दाहेर्दैमा रहेको छ।

मंसिर ५ गतेदेखि सुनुवाई शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बहसमा धेरैजना कानुन व्यवसायी भएका कारण लम्बिएको हो।

करिब ५ महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दा न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा परेको मुद्दामा एक हप्तादेखि सुनुवाई जारी छ।

२२ जना प्रतिवादी रहेको मुद्दाको एकैसाथ सुनुवाई जारी छ। भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध थुनामा रहेकाहरुले उच्च अदालत पाटनमा आफूहरु थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनेगरी निवेदन दिएका थिए। जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्नेभन्ने बारे उच्च अदालतको निर्णयमा भर पर्नेछ।

प्रकाशित: १२ मंसिर २०८० १२:३१ मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरण उच्च अदालत पाटन