समाज

धनुषामा एक महिलाको शव भेटियो

धनुषामा एक महिलाको शव फेला परेको छ। धनजी गाउँपालिका ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा मंगलबार अन्दाजी ३५ वर्षीय महिलाको शव फेला परेको हो।

मंगलबार बिहानै स्थानीयले आँपको बगैँचामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी घटना स्थलमा पुगी अनुसन्धान थालिएको धनुषा प्रहरी प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।

उनका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन्।प्रहरीले घटनाको अनुसन्धानका लागि तालीम प्राप्त  कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको छ।

शवको प्रकृति हेर्दा तीन चार दिनअघि नै मृत्यु भएको जस्तो देखिन्छ। शव कुहिएको हुनाले अनुहार चिनिने अवस्थामा नरहेको धनुषा प्रमुख शर्माले बताए।

पोस्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुर पठाएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: १२ मंसिर २०८० १०:०० मंगलबार

धनुषामा एक महिलाको शव भेटियो