समाज

मध्यरातमा प्रहरीको छापा: १६ जुवाडे पक्राउ, ५ लाख बरामद

जुवा खेलिरहेको अवस्थामा कास्की प्रहरीले कौडा सहित १६ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ५ हजार रुपैयाँ र १६ थान कौडा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकका अनुसार पोखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानबाट उनीहरुलाई मंगलबार बिहान साढे १ बजे पक्राउ गरिएको हो।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको उनले बताए।

‘बेलुकीदेखि नै जुवा खेलेको सूचना पाएपछि प्रहरीले मध्यरातमा छापा मारेको हो,’ उनले भने, ‘उनीहरुको साथबाट पाँचलाख रुपैयाँ बढी नगद पनि फेला परेको छ।’

विकका अनुसार कौडा सहित पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। 

पक्राउ परेका सबै जना अहिले कास्की प्रहरीमा रहेको विकले बताए। पक्राउ पर्नेमा पोखरा–६ का चार जना, पोखरा–१७ का पाँच जना, पोखरा-२१ का तीन जना, पोखरा–१० का एक जना र पोखरा–३३ का तीन जना रहेका छन्।

प्रकाशित: १२ मंसिर २०८० ०८:१७ मंगलबार

जुवाखाल पोखरा प्रहरीको छापा