समाज

राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको विवाद मिलाउन बैठक

 वीरगन्ज- ‘पर्या पर्यटन’को लागि नेपालकै एउटा उत्कृष्ट गन्तब्यको रुपमा पहिचान गरिएको ‘पर्सा राष्ट्रिय निकुञ्ज’ र स्थानीयबीच देखिएको बिवाद सामाधानका निम्ति मंगलवार वीरगन्जमा बैठक बसेको छ। सरोकारवालाहरुको बैठकले निकुञ्ज क्षेत्रभित्र पर्ने दुग्देश्वरनाथ महादेव स्थानमा बर्षमा ३ पटक लाग्नेमध्ये श्रीपञ्चमीको मेला शान्तिपुर्ण, प्रदुषणरहित तथा जंगलको प्राकृतिक अवस्थामा खलल नपुग्ने गरी ब्यवस्थापन गर्ने र दिगो रुपमा यसलाई ब्यवस्थि गर्न स्थानीय समुदायले नै मेलापछि योजना पेश गर्ने सहमति गरेको छ।

स्थानीय थारु र मधेसी समुदायको धार्मिक आस्थाको दृष्टीकोणले भाथाको डाँडामा रहेको दुग्देश्वरनाथको निकै महत्व छ। उनीहरुले बिना रोकतोक जंगलमा आवतजावत गर्ने, मेला लगाउने र बाजागाजा लैजान पाउने माग गरिएका आएका छन् भने निकुञ्ज  कार्यालयले निकुञ्ज क्षेत्रभित्र मानव गतिबिधि न्युन पार्दै लैजान मेलालाई बाहिर लग्दै दर्शन पूजा मात्र भित्र गर्ने ब्यवस्था मिलाउन आग्रह गरेको छ।

जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा मंगलवार ‘इकोनोमिक रिपोर्टर्स एशोसिएशन’को संयोजनामा बसेको बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले निकुञ्ज स्थानीय जनताकै सम्पति भएकोले यसको संरक्षणका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पर्सा राष्ट्रिय निकुञ्ज नेपालको रैथाने प्रजातिका हाति, पाटे बाघ, चितल, मृग, हरिण, जरायो लगायतका जनावरहरुको लागि नेपालकै एउटा उत्कृष्ट बासस्थानको रुपमा विकसित हुँदै गएको बेला त्यहाँभित्र मानव गतिबिधी घटाउदै लैजानु पर्ने बताए।

उनले धार्मिक पूजाआजा र दर्शनमा समस्या नहुने गरी र मेला तथा अनावश्यक भिडभाडलाई ब्यवस्थापन गरे यो ठाउँ विश्वभरका पर्यटकहरुको आकर्षणको केन्द्र बन्न पुगी स्थानीयको आयआर्जनमा पनि सहायक हुने बताए । स्थानीय जनसमुदायलाई प्रतिनिधित्व गर्दै बैठकमा सामेल भएका पूर्व साँसद सुरेन्द्र प्रसाद चौधरीले रामभौरी भाथास्थित दुग्धेश्वरनाथ मन्दीर पर्सावासीको साझा आराध्य देउता भएकोले त्यहाँ हुने धार्मिक गतिबिधि रोक्न नमिल्ने बताउँदै त्यसलाई ब्यवस्थित गर्नमा जोड दिए।

नेपालको रैथाने प्रजातिको हाति संरक्षणको लागि २०४० सालमा ४ सय ९९ बर्ग किलोमिटर क्षेत्रको जंगललाई ‘पर्सा बन्यजन्तु आरक्ष’ घोषणा गरियो । यसमा १ सय २८.३९ बर्गकिलोमिटर क्षेत्र बाराबाट थपेर २०७२ सालमा आरक्षलाई ६ सय २७.३९ बर्ग किलोमिटरको बनाइयो । २०७४ बैशाख २५ मा मन्त्रीपरिषदको निर्णयबाट आरक्षलाई अहिले निकुञ्ज घोषणा गरिएको छ । निकुञ्ज घोषणा भएपछि यहाँ पर्यटक आउने कानूनी रुपमै बातावरण बनेको छ । विभिन्न किसिमका जनावर, वनस्पतिले र ३ सय ३३ प्रजातिका चराचुरुंगीहरु पाइने तथ्यांक छ ।

यसै निकुञ्जभित्र पर्ने दुग्धेश्वर महादेवको स्थान निर साउन महिनाभरी, बैशाख शुक्ल पक्षको तेरस तिथीमा र माघको श्रीपञ्चमीको अवसरमा मेला लाग्ने गरेको छ । मेलामा आउनेहरुले गर्दा बन क्षेत्रमा प्रभाव परेको कुरा बिगततदेखी नै उठाइए पनि पछिल्लो समयमा निकुञ्ज भएपछि यसमा सुधारको पहल थालिएको हो । सुधार प्रक्रियमा मानिसहरुको गतिबिधि त्यहाँभित्र नियन्त्रित गर्न खोजेपछि स्थानीय र निकुञ्जको बिचमा मतभिन्नता सुरु भएको हो । ‘यस मत भिन्नतालाई हटाएर निकुञ्जलाई कसरी ब्यवस्थित पर्यटनको आवधारणमा लैजान सकिन्छ भन्ने उदेश्यले बैठक राखिएको हो,’ एशोसिएशनका सदस्य शंकर आचार्यले बताए ।

दुग्धेश्वरनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष राजेश्वर महतोले आफुहरुले निकुञ्जको बातावरण नबिथोली धार्मिक गतिबिधि संचालन गर्ने कुरामा सहमत रहेको बताए।

प्रकाशित: १८ पुस २०७४ १२:५५ मंगलबार

राष्ट्रिय निकुञ्ज स्थानीयबीचको विवाद मिलाउन बैठक