समाज

लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान सुरु

फाइल तस्वीर

पहिलो सूर्योदय क्षेत्र भनेर चिनिने सुकेटारनजिकैको झुल्के डाँडाबाट लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान प्रारम्भ गरिएको छ।

लैंगिक हिंसाको अन्त्य भई घामको झुल्कोजस्तै न्यानो स्पर्श गर्न पाइयोस् भन्ने अवधारणाका साथ झुल्के डाँडाबाट अभियान प्रारम्भ गरिएको फुङलिङ नगरपालिकाका उपप्रमुख तथा लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियानकी नगर संयोजक भीमादेवी ओझाले बताइन्।

पहिलो सूर्योदय देखिने क्षेत्र भनेर चिनिएको झुल्केडाँडा पछिल्लो समय आन्तरिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै आएको छ। प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले लैंगिक हिंसासँगै सामाजिक, सांस्कृतिक र आर्थिक हिंसा अन्त्यका लागि सोह्र दिने अभियान कामयावी हुने विश्वास व्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आफू पनि हिंसा नगर्ने र हिंसा पनि नसहने प्रणाली नै अहिलेको प्रमुख आवश्यकता रहेको बताइन्।

नेत्री चित्राकुमारी चंसु लिम्बूले हिंसा अन्त्यका लागि सामाजिक जागरणको आवश्यकता रहेको भन्दै सोह्रदिने अभियान त्यसकै एक अवयवका रूपमा रहेकोमा जोड दिइन्।

 अर्की नेत्री गीताकुमारी सेन्दाङले लैंगिक हिंसाको सुरुवात आफैंबाट हुनुपर्ने भन्दै हिंसा अन्त्यका लागि सामूहिक प्रयासमा जोड दिइन्। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ। नेपालमा २०५४ सालदेखि दिवस मनाउन थालिए पनि संस्थागत मान्यता भने केही पछि मात्र पाएको हो।

सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशमा लैंगिक हिंसाविरुद्धको दिवस बनाउन थालिएको हो।

सन् १९९९ बाट भने संयुक्त राष्ट्रंघले नोभेम्बर २५ लाई लैंगिक हिँसाविरुद्धको अभियानका रूपमा आत्मसात गर्दै आएको छ। डोमोनिकन गणतन्त्रका मिरावेल परिवारका तीनजना दिदीबहिनी क्रमशः पेट्रिया, मिर्नभा र मारियाले तत्कालीन त्रुजिलो सरकारले गरेको हिंसाविरुद्ध सन् १९६० नोभेम्बर २५ मा सुरु गरेको अभियान र संघर्षको स्मरणस्वरूप यो दिवस मनाउने गरिन्छ।

प्रकाशित: १० मंसिर २०८० ०४:३२ आइतबार

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान