समाज

प्रहरी महानिरीक्षक कुँवर भियना प्रस्थान, कार्यभार अतिरिक्त महानिरीक्षक राईलाई

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज बिहान अष्ट्रिया प्रस्थान गरेका छन्। उनको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने भएका छन्।

केन्द्रिय प्रहरी कार्यालयका अनुसार इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेशनल सेन्ट्रल व्यूरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन्।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन्।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरेका थिए।  

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिव बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत छ।  

यसै गरी  इन्टरपोलको ग्लोबल आउटरिच एन्ड रिजनल सर्पोटका प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र युएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा  द्विपक्षीय बैठक हुने कार्यक्रम छ।

प्रकाशित: १० मंसिर २०८० ०४:१६ आइतबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभा अष्ट्रिया अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई