समाज

पिकनिक गएको स्कुल बस दुर्घटना, ३९ विद्यार्थी घाइते

सडक मुनि पुगेर दुर्घटनाग्रस्त भएको स्कुल बस। तस्बिर: महेश्वर/नागरिक।

उदयपुरको जलजलेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलको विद्यार्थी सवार बस दुर्घटनामा पर्दा ४ दर्जन हाराहारी घाइते भएका छन्।

शनिबार पिकनिक गएको विद्यालयको प्र १–०५–००१ ख ००४४ नं. को स्कुल बस दुर्घटनामा पर्दा ३९ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ।

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको उदयपुरगढी-७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा परेकाहरुको स्थानीय चौकी र जिल्लाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याएका छन्।

उपचारार्थ ल्याइएका ३९ घाइते मध्ये २ जनाको अवस्था गम्भीर भएकाले विराटनगर र धरान रिफर गरिएको पनि उनले बताए। प्रहरीको उद्धार टोली घटनास्थलमा रहेको र घाइते अरू पनि थपिन सक्ने उनले बताए।

‘घट्नाबारे सबै विवरण आई पुग्न बाँकी छ, ३९ जना घाइते विद्यार्थी अस्पताल ल्याई पुर्‍याइएको छ’ डिएसपी चौधरीले भने ‘ठूलो बस भएकाले अरू पनि घाइते हुनसक्ने सम्भावना छ।’

आज बस दुर्घटना भएको ठाउँमा दसैँ र तिहारको बीचमा एउटा हायस र एउटा मालवाहक ट्रक पनि दुर्घटनामा परेका थिए। त्रियुगा, रौतामाई र उदयपुरगढीको संगमस्थल ७७७ चोकदेखि नेपालटार जोड्ने खण्डमा घना जङ्गलबिच निकालिएको लोकमार्ग घुम्ती र साँघुरो भएकाले बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८० ०९:०३ शनिबार