समाज

बाघ आक्रमण बेहोरेका बद्रहनीबासीको ब्यथा

भरत महतो र छलाही महतो

चितवन- बद्रहनी गाउँ नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र सौराहाभन्दा लगभग तीन किलो मिटर पश्चिममा पर्छ । सौराहाको आडमा पनि राप्ती नदी नै बग्छ । त्यो गाउँ पनि राप्ती नदीकै आडमा छ । नदीभन्दा पर सौराहामा पनि चितवन निकुञ्जको जंगल नै छ, बद्रहनी पारी पनि निकुञ्जकै जंगल छ । तर सौराहा पर्यटनका कारण चम्किलो छ भने बद्रहनीमा जंगली जनावरबाट पीडित भएकाहरु गाउँभरि नै भेटिन्छन् ।

सौराहामा निकुञ्जमा रहेका दुर्लभ बन्यजन्तु बाघ, गैंडा, जंगली हात्ती, मृग र चरा हेर्न आउने पर्यटकका रमाउँदै बस्छन् । तर बद्रहनीका गाउँलेहरु निकुञ्जका तिनै जन्तु जनाबरहरुबाट पीडित छन् । जनवारले खेतीबाली मात्रै नोक्सान गर्दैनन्, मान्छेमाथि नै आक्रमण गर्छ । बन्यजन्तुको आक्रमणले अंगभंग भएकाहरु मात्रै हैनन्, बद्रहनीवासीले जीवनै गुमाएका पनि छन्् ।

रत्ननगर नगरपालिकाको वडा नं. ७ मा पर्छ बद्रहनी । जहाँ आदिवासी थारु र दरईका साथै जनजाति समुदायका तमाङहरु बस्छन् । गाउँमा थारु समुदायका मात्रै ४६ घर छन् । सोही गाउँमा भेटिए ५३ वर्षका भरत महतो । ‘बाघसँग लडेर धन्नैले बाँचेको मान्छे’ गाउँलेले उनलाई यही हैसियतमा चिन्छन् । बाहिरबाट हेर्दा चोट देखिँदैन । तर उनले बेहोरेको डर लाग्दो कथा र कपडाले छोपेको पुरानो घाउ कुरा गर्दै जाँदा थाहा पाइन्छ ।
‘आजभन्दा छ वर्षअघिको कुरा हो । त्यो दिन पुस १९ गते थियो । गाउँका २५ जना जंगल गएका थियौं,’ भरतले त्यो दिनको कथा सुरु गरे । गाउँलेहरु दाउरा खोज्न र बाख्रालाई घाँस काट्न जंगल छिरेका थिए । जंगलको धेरैभित्र पुगेपनि उनीहरु नअडिइ हिँडिरहेका थिए । जाँदैगर्दा एउटा सानो खोल्सा आयो । खोल्सोको आडको धुलोमा बाघको ताजा पाइला देखियो । ‘भर्खरै बाघ यहाँ आएको रहेछ’ सबैले यही भने ।
‘पाइला देखेपछि बाघ नजिकै छ भन्ने लागेर हामी सतर्क हुनै भ्याएका थिएनौं । सबैभन्दा अगाडि रहेको मेरो १३ वर्षको नाती बाबुरामलाई त आँखै अगाडि बाघ आएर झम्टिहाल्यो,’ भरतले भने । नातीलाई जोगाउन भरतले कम्मरमा भिरेको खुर्पेटो (हँसिया राख्ने काठको घरेलु औजार)बाट हँसिया झिकेर बाघलाई हाने । उनको प्रहारले बाघले नातीलाई त छाड्यो तर भरतलाई नै झम्टियो ।
‘बाघले दाह्रा ल्याएर ठ्याक्कै मेरो मुखमा गाड्यो । रुद्र घण्टी नै फुटायो । च्यापु त झुण्डिएको थियो । घाँटी फुटेर बोल्न नमिल्ने सबै हावा बाहिर गइरहेको थियो । छातिको देब्रेतर्फ र दाहिने हातको हत्केलामा नङ्ग्रा गाडेको थियो,’ भरतले सुनाए । धन्न टोली धेरै थियो सबै डटेर बाघ लखेटे । नभए नातीमात्रै होइन, भरत पनि जोगिने कुनै सम्भावना थिएन । भरत बाघको मुखबाट त जोगिए तर ऋणको मुखमा परे ।
भरतलाई जंगलबाट दौडाउँदै तत्कालै उपचार गर्न रत्ननगर टाँडीको मेडिकलमा लगियो । तर मेडिकलमा भएकाहरुले घाउँ देखेपछि तत्कालै काठमाडौं लैजान सल्लाहा दिए । काठमाडौं जाने भनेपछि उनको र परिवारको होसहवास उड्यो । किनकि त्यहाँ गएर गर्नुपर्ने खर्च त परको कुरा खल्तीमा काठमाडौं पुग्न एम्बुलेन्सलाई तिर्ने पैसा पनि साथमा थिएन ।
‘तर छिमेकी मिलेर भरतपुरको पुरानो मेडिकल कलेज लगे,’ भरतले भने । त्यो अस्पतालमा उनी दुई महिना बसे । चिउँडो सिलाएपछि पुरानोजस्तै भएर आयो । उपचारपछि घाँटी पनि ठीक भयो । तर दुई वर्षसम्म उनले भिटामिन र तागतिलो खान्कीहरु खाइनै रहनुप¥यो । रेबिजको भ्याक्सिन पनि लिनु प¥यो । अहिले त घाउहरु पुरिँदैछन् । गर्मीको समयमा पनि घाउ भएको ठाउँमा नराम्ररी चिलाउँछ ।
तर बिरामी हुँदा पाँच लाख रुपैयाँ ऋण लाग्यो । ‘बछौलीमा रहेको साना किसान कृषि सहकारी संस्थाबाट उपचारका लागि भनेरै लालपूर्जा धरौटी राखेर पाँच लाख रुपैया ऋण लिएको बल्ल बल्ल तिरेर सके,’ भरतले भने । निकुञ्जको मध्यवर्ती समितिले उपचार खर्चबापत त्यो बेलामा २५ हजार रुपैयाँसम्म दिन्थ्यो । तर त्योभन्दा कयौं गुणा रकम उनको खर्च भयो ।
‘ऋण तिर्नलाई पाँचवटा त राँगा बेच्नुप¥यो । २६ कट्ठा खेतमा फल्ने धान मकै कोदो के के हुन्छ सबै बेच्दै ऋण तिर्नुप¥यो,’ भरतले भने । खेतीलाई पनि जनावरबाट बचाउन साह्रै गाह्रो छ । पहिला पहिला गैंडाले हैरान गथ्र्यो । तारबार लगाएपछि गैंडा त रोकियो तर मृग, हात्ती, बँदेलले लगाएको खेती सखापै पार्छ । खेती नष्ट हुँदा निकुञ्ज कार्यालयबाट पाउने राहत पनि साह्रै थोरै छ ।

‘खेती नोक्सान हुँदा प्रायः राहत पाइएको छैन । पाइए पनि निकै थोरै पाइन्छ । मेरो २५ कट्ठा खेतमा लगाएको मकै जंगली हात्तीले पूरै सखाप पारेको थियो । निकुञ्जको मध्यवर्तीले बीउको मात्रै तीन हजार रुपैयाँ दियो । हामीलाई त जताबाट पनि मर्का छ,’ भरतले भने ।
भरतकै घरभन्दा लगभग ५० मिटर पर बद्रहनीमै बस्छन् छलाही महतो । ६० वर्षका छलाहीको जिम्मेवारीमा आफ्ना सन्तानमात्रै छैनन् । उनका कानछा भाइ बुधन रोजगारीका लागि विदेश छन् । त्यसैले भाइको परिवारको रेखदेख पनि उनैले गर्नु परेको छ । भाइ बुधनकी पाँच छोरी थिए । जसमध्ये जेठीको नाम जानकी थियो । जानकीको प्राण बाघले लिएको हो ।

विस २०७२ साल भदौ १४ गते दिउँसो छलाही, जानकीसहित गाउँका पाँचजना बाख्रालाई घाँस काट्न जंगल छिरेका थिए । जंगलभित्र घाँस काट्दै गर्दा बाघको डर लाग्दो आवाज र महिलाको चित्कार सँगसँगै आयो । छलाही अलि पर थिए । आवाज आएका तिर दौडदै जाँदा रगत र घिसारेको डोब देखे । सबै मिलेर कराउँदै डोबलाई पछ्याउँदै जाँदा जानकी देखा परिन् । उनको त्यही नै प्राण गइसकेको रहेछ ।

बारीमा बार लगाउँदै गर्दा भेटिएका छलाहीले भने– ‘छोरीको विहे माडीमा भएको थियो । त्यो ठाउँ टाढा भयो भनेर यतै घडेरी खोजेर घर बनाउने भनेर बोलाएका थियौं । यही बसेकी थिइ । बाख्रा थिए । त्यही बाख्रालाई घाँस काट्न जंगल गएका बेला उसको प्राण नै गयो ।’ जानकीका श्रीमान आदेश महतो पनि विदेशमा नै छन् । उनको सानो छोरो छ । जसको उमेर नौ वर्षको भयो ।

बाघ आक्रमणमा आमा गुमाएका ती बालकको अहिले न बाबु न हजुरबुबा साथमा छन् । छलाहीले नै उनको रेखदेख गर्छन्् । ‘भाइकी श्रीमतीलाई क्यान्सर भएको छ, दुःखमाथि दुःख । यस्तो हुँदा पनि ज्वाइ र भाइ देशमा बस्न पाएनन् । कमाउनलाई विदेशै जानुप¥यो,’ छलाहीले भने । अहिले जंगली जनावरले आक्रमण गरेर मृत्यु भए मृतकका परिवारले राहतस्वरुप १० लाख रुपैयाँ पाउँछन् । दुई वर्षअघि पाँच लाख थियो ।
तर जानकीको परिवारले केही पाएन । उनलाई बाघले जहाँ आक्रमण गरेको थियो, त्यो ठाउँ मध्यवर्ती क्षेत्रभन्दा बाहिर चितवन निकुञ्जको सीमानाभित्रै परेको रहेछ । निकुञ्जको सीमानाभित्र जंगली जनावरले आक्रमण गरेर राहत नदिने नियम छ । त्यसैले पविारले निकुञ्ज र मध्यवर्ती समितिको तर्फबाट केही पाएन । ‘एउटा संस्थाले किरिया खर्च भनेर २५ हजार दियो । अरु केही पाइएन,’ छलाहीले भने ।

चितवन निकुञ्जसँग चितवन र नवलपरासी जिल्लामात्रै नभएर मकवानपु र पर्साको केही भाग पनि जोडिएको छ । निकुञ्ज सीमानाभन्दा बाहिर तर निकुञ्जबाट प्रभावित भएको क्षेत्रलाई मध्यवर्ती (बफरजोन) भन्ने गरिएको छ । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने चारवटै जिल्लामा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा परेर १३ जनाको निधन भएको निकुञ्ज कार्यालयको भनाइ छ ।

चितवन निकुञ्जको तथ्याङ्क विवरण हेर्दा वर्षमा पाँचजनादेखि २५ जनासम्मको ज्यान बाघ, गैंडा, जंगली हात्ती, गोहीलगायतका जंगली जनावरको आक्रमणमा परेर गएको देखिन्छ । घाइते तथा अंगभंग पनि प्रशस्तै हुन्छन् । विस २०५४ सालमा मध्यवर्ती क्षेत्र गठन भएपछि घाइतेले सामान्य उपचार खर्च र मृत्यु भएमा परिवारले राहत पाउन थालेका हुन् ।

दुई वर्षअघिसम्म घाइतेले उपचार खर्चबापत बढीमा एक लाख र मृतकका परिवारहरुले राहत स्वरुप तीन लाख रुपैयाँ निकुञ्जबाट पाउँदै आएका थिए । अहिले घाइतेले उपचार खर्चबापत बढीमा दुई लाख रुपैयाँ र मृत्यु भएमा परिवारले राहतस्वरुप १० लाख रुपैयाँ पाउने गरेको चितवन निकुञ्जका सूचना अधिकारी तथा साहयाक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

‘जंगली जनावरको मात्र होइन । खोलाको किनारमा बस्छौं, बाढीको डर उत्तिकै छ । यो कुरामा प्रशासन र सरकारका मान्छे गम्भीर हुनुपर्ने हैन र ? तर उनीहरुलाई हाम्रो समस्याको ख्यालै छैन,’ भरतले गुनासो गरे ।

थारुका घरहरु फरक खालका हुन्छन् । तर बद्रहनीमा पुराना थारु घरका साथै सिमेन्टका नयाँ घरहरु पनि बन्न थालेका छन् । तर बद्रहनी ‘टिपिकल थारु गाउँ’का रुपमा परिचित छ । गाउँमा ट्रयाक्टर किन्नेहरु पनि छन् । तर गोरु गाडा पनि भेटिन्छन् । पर्यटकहरु गोरु गाडा चढ्न बद्रहनी पुग्छन् । गाउँमा सानो एउटा घर पनि छ जहाँ थारुले प्रयोग गर्ने सामानहरु राखिएका छन् । यो ‘मिनी थारु संग्राहालय’ हो ।

सौराहा आएका पर्यटकहरु गाउँ घुम्दा त्यो संग्राहालय पनि छिर्छन् । छिरेको कुनै शुल्क लाग्दैन । तर हेरेपछि कसैले सहयोग गर्न मन लागे ‘डोनेशन बक्स’मा पैसा राख्दिन सक्छ । पर्यटनबाट पूर्ण अछुतो पनि छैन यो गाउँ । बाघ आक्रमणमा परेर घाइते भएका भरतलाई पनि होटल व्यवसायीले उपचार खर्च भनेर २५ हजार रुपैयाँ सहयोग गरेका थिए । तर पर्यटनको लाभभन्दा बाढी र बन्यजन्तुले दिने पीडा ठुलो छ त्यहाँ ।

प्रकाशित: १६ पुस २०७४ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App