समाज

नयाँ वर्षमा सुन्दरीजलमा मेलम्चीको पानी

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो । 

‘योसँगै मेलम्ची पानी मुखैमा आइसकेको छ,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने । ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थु्र भएको औपचारिक घोषणा भने शनिबार आयोजना स्थलमै गएर गरिने उनले बताए । देवकोटाका अनुसार अब सिन्धु–ग्याल्थुम खण्ड मात्र सुरुङमार्गले जोडिन बाँकी छ । साढे ७ किमी लामो यो खण्डमा ५ सय मिटरभन्दा कम सुरुङ खन्न बाँकी छ । 

सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत पुसमा सुरुङमार्गले जोडिएको थियो । यो खण्ड ९.४ किमी लामो छ । यहाँ अहिले सुरुङ ढलान गर्ने काम भइरहेको छ । यो खण्डमा साढे २ किमी सुरुङ संरचना ढलान भइसकेको कार्यकारी निर्देशक देवकोटाले बताए । 

आयोजनाको सबैभन्दा जटिल र मुख्य संरचना मानिएको साढे २७ किमीमध्ये २७ किमीभन्दा बढी सुरुङ संरचना तयार भइसकेको आयोजनाले जनाएको छ। ‘नयाँ वर्षमा मेलम्ची पानी सुन्दरीजल खस्ने देखियो,’ देवकोटाले भने, ‘यति हुनु भनेको बहुप्रतिक्षित र बहुचर्चित आयोजना सम्पन्न हुनु बराबर हो ।’

बाँकी सुरुङ दुई महिनामा सक्दै ढलानको कामसमेत सँगसँगै अघि बढाएर चार महिनामा सुरुङ संरचना सम्पन्न गर्ने तयारीमा आयोजना छ। अहिले काम भइरहेको सिन्धु–ग्याल्थुम खण्डमा कडा चट्टान फेला परेकाले ढिलाइ भइरहेको देबकोटा बताउँछन् । यहाँ दैनिक सरदर सात मिटर सुरुङ खन्ने काम भइरहेको छ । यसलाई बढाएर नौ मिटर पु¥याउने तयारीमा आयोजना जुटेको छ। 

‘सुरुङमार्गका बाँकी काम सम्पन्न गर्न सबै स्रोत साधन र शक्ति लगाउँदै छौँ,’ कार्यकारी निर्देशक देवकोटाले भने । सुरुङ संरचना अन्तिमचरणमा पुगेसँगै झण्डै दुई दशकदेखिको मेलम्ची सपना साकार हुने दिन नजिकिँदै छ। राजधानीवासीको खानेपानी समस्या हल गर्न पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी लैजाने लक्ष्यसाथ सन् २००१ बाट आयोजनाको काम भइरहेको छ । 

सुन्दरीजलमा मेलम्चीबाट आउनेमध्ये साढे ८ करोेड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । यो केन्द्र जाइकाका सहयोगमा बनेको हो । बाँकी साढे ८ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । त्यहाँ आयोजनाको मुख्य दाता एशियाली विकास बैंक (एडिबी) को सहयोगमा काम भइरहेको हो । साथै राजधानीका सहरमा मेलम्ची पानी वितरणका लागि पाइप लाइन बिछ्याउने काम पनि अघि बढिरहेको छ । 

‘मेलम्ची पानी सुन्दरीजल ओह्रालेपछि आयोजनाको कार्यभार पूरा हुन्छ,’ कार्यकारी निर्देशक देवकोटा भन्छन्, ‘त्यसपछि राजधानीवासीका घर–घरमा पानी बाँड्न थोक वितरण प्रणालीमा जिम्मेवारी सर्छ ।’ २०७५ असोजभित्र राजधानीवासीलाई मेलम्ची पानी खुवाउने सरकारको लक्ष्य छ । 

सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । दातासँग समयमै ऋण सम्झौता गर्न नसकेको र आयोजना नै पुनःसंरचना गर्नुपर्दा निर्माणमा ढिलाई भएको आयोजनाका अधिकारी बताउँछन् । मेलम्चीपछि एउटै सुरुङमा लार्के र याग्रीको खोला समेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको दीर्घकालिन योजना छ । उपआयोजना–३ अन्तर्गत लार्के र यांग्रीको प्रारम्भिक काम सुरु भइसकेको आयोजनाले जनाएको छ । 

 

प्रकाशित: १४ पुस २०७४ १४:३५ शुक्रबार

वर्षमा सुन्दरीजलमा मेलम्चीको पानी