समाज

धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए, अनुसन्धान सुरु

धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्। धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको नागरिक न्यूजलाई बताए।

उनका अनुसार दुई जना मृत अवस्थामा र एक जना झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलले मृत अवस्थामा भेटिनेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरूका ११ वर्षीय छोरा आयुष रहेको जानकारी दिए।

उनले घटनाको विषयमा प्रहरीले जानकारी पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको पनि बताए। उनले भने, ‘एसपीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु भएको छ। मृत अवस्थामा भेटिएका शवहरूको पोष्टमार्टमका लागि अस्पताल पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले पोष्टमार्टमको रिपोर्ट पछि मात्रै मृत्युको कारणबारे बुझ्न सजिलो हुने बताए।

प्रकाशित: ७ मंसिर २०८० ०४:१७ बिहीबार

धनकुटा तीनजना मृत अवस्थामा फेला पुण्यविक्रम पौडेल प्रमुख जिल्ला अधिकारी धनकुटा नगरपालिका