समाज

आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने चलन रहेको छ।

आजकोे दिन काठमाडौं उपत्यकाका चार नारायण–चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण लगायत देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको भिड बिहानैदेखि लागेको छ।  

प्रकाशित: ७ मंसिर २०८० ०२:१६ बिहीबार

हरिबोधनी एकादशी तुलसीको विवाह गर्ने दिन ठूलो एकादशी हिन्दू धर्म