समाज

सडक बालबालिकालाई शिक्षा

सडकबाट उद्धार गरेर संरक्षणका लागि ल्याएका सडक बालक साक्षर अभियान अन्तर्गत पढ्दै। तस्बिर: अमर/नागरिक

धरानका सन्दिप पाण्डे १७ वर्ष पुगे। उनी आठ वर्षको हुँदा आमाको निधन भयो। १३ वर्षको हुँदा बाबुको निधन भयो। सन्दिपका बाबुआमा छँदा धरान भोटेपुल नजिकै कवाडी (पुराना सामग्री संकलन गर्ने) पसलमा काम गर्थे। उनका बाबुआमा छोराछोरीलाई पनि लिएर त्यही बस्ने गर्थे। तर, विडम्बना! आमाबाबु दुवै जना गुमाएपछि सन्दिपलाई सहारा दिने कोही भएनन्।

बाबुआमाको निधन भएपनि सन्दिपसहित उनका दाजु, भाइ र दिदीको संरक्षण गर्ने कोही भएनन्। त्यो अवस्थामा दाजु भानुचोकतिरै भौँतारिएर हिँड्न थाले। भाइलाई पथरीमा आफन्त आन्टीले लगिन्। दिदीलाई तरहरामा फुपुले ल्याइन्। तर, सन्दिपलाई आफन्त कसैले पनि संरक्षण गरेनन्। अनि उनी भौँतारिएर धरानका सडक–सडक हिँड्न थाले। हिउँदको चिसो होस् या बर्खाको पानी उनी सडकमै बस्न र सुत्न थाले।

यसरी जीवन बिताउँदा उनी लागूऔषधको कुलतमा पनि फसीसकेका थिए। उनमा चोरी गर्ने लत पनि बसी सकेको थियो। ‘दुई वर्ष सडकमा रहँदा विज्याई जति सबै गर्न भ्याइयो,’ उनले भने, ‘यति बेला भने उनको दैनिकी फेरिएको  छ।’ बाबुआमा छँदा कक्षा ३ सम्म पढेका उनी अहिले कक्षा ४ को कोर्ष अध्ययन गरी रहेका छन्।

उनीलाई अहिले भ्याइस अफ चिल्ड्रेन इटहरीले संरक्षण गरेर साक्षर कक्षामा राखेर नियमित सिकाउने गरेको छ। उनी हरेक दिन चार घण्टा अध्ययन गर्ने गरेका छन्। ‘अब भने सीपमूलक तालिम सिकेर आत्मनिर्भर बन्ने योजना छ,’ उनले भने।

सरकारले सडकलाई सडक बालक मुक्त बनाउने अभियान अन्तर्गत धरानबाट २०७६ साल पुस १८ गते उद्धार गरी सन्दिपलाई इटहरीमा रहेको भ्वाइस अफ चिल्ड्रेनमा संरक्षणका लागि जिम्मा दिइएको हो। उनीलाई संरक्षण गर्न दिएपछि पनि त्यहाँबाट केही समय फरार भए। यति बेला पनि फेरि भ्वाइस अफ चिल्ड्रेनकै सम्पर्कमा आएर साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन्।

सन्दिपजस्तै, धरानका १७ वर्षे मनिष खड्का र उनका भाइ १० वर्षका अनिष पनि सडक बालकको रुपमा जीवन बिताइ रहेका बेला उद्धार गरेर भ्वाइस अफ चिल्ड्रेनकै संरक्षकत्वमा राखिएको छ। दुवै जना यति बेला साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन् । मनिषको सडक सम्म पुग्नुमा कारुणिक कथा छ।

उनी सात वर्षको हुँदा बाबु विक्रम लागूऔषध प्रयोगकर्ताको रुपमा पक्राउ परे। अदालतबाट जेल चलान गर्ने आदेश दिए। बाबु जेल परेको चार वर्षपछि आमा मीनाले अर्को विवाह गरिन्। आमाले बुर्किङ् काउन्टरमा काम गर्ने समीर तामाङसँग विवाह गरिन्। मनिष र उनका शारीरिक असक्त भाइ अनिष आमाले विवाह गरेकै घरमा गए। आमा मिना बिरामी भइन्। त्यही बेला बाबु कैद जीवन भुक्तान गरी छुटे। र, मनिष बाबुसँग आए। उनी बाबुसँग आएको केही दिनमै आमा बितिन्। बाबु पनि केही समयपछि फेरि लागूऔषध मुद्दामै दोस्रो पटक जेल परे। उनी भाइ पनि मनिषसँगै आए।

आफन्तले संरक्षण नगरेपछि दाजुभाइ नै सडकमै जीवन बिताउन थाले। यति बेला दुवै जनालाई उद्धार गरी भ्वाइस अफ चिल्ड्रेनले नै संरक्षण गरी रहेको छ। दुवै जना साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन्। मनिषले अब तालिम लिएर वर्कसप खोल्ने योजनामा छन्। ‘मैले तालिम लिएर वर्कसप खोलेर भाइलाई संरक्षण गर्ने योजना छ,’ उनले भने।

सडक बालबालिकाहरू आफ्ना अभिभावकको संरक्षकत्व, सामीप्यता र स्याहारबाट समेत पूर्णतः वञ्चित भएको अवस्थामा भ्वाइस अफ चिल्ड्रेनले संरक्षण प्रदान गर्दै आएको छ । भ्वाइस अफ चिल्ड्रेनले यति बेला आठ जनालाई संरक्षण प्रदान गरेर साक्षर कक्षा अन्तर्गत पढाउने कामसँगै केहीलाई सीपमूलक तालिम पनि दिने गरेको छ। 

प्रकाशित: ६ मंसिर २०८० १०:५२ बुधबार

सडक बालबालिका