समाज

रानीपोखरीको निर्माण कार्य स्थगित, मल्लकालिन शैली मै निर्माण गरिने

काठमाडौं –  लामो समयदेखि विवादित रानी पोखरी निर्माण कार्य तत्कालका लागि स्थगित भएको छ । काठमाडौँ महानागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको उपस्थितिमा काठमाडौं महानगरपालिकामा विहीबार बसेको बैठकले निर्माण कार्य तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो। 

रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनर्निर्माण गर्ने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिए। 

उनका अनुसार रानीपोखरी पुनर्निर्माण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरिएको छ। 

समितिमा भवन विभागका पूर्व महानिर्देशक सुर्यभक्त साँगाछे, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजु मानन्धर, संस्कृतिविद सुदर्शनराज तिवारी, पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोल, संस्कृतिविद् काशीनाथ तमोट, पुरात्व विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरे, पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, काठमाडौं महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष चिनियामान बज्राचार्य, वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गी र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा सदस्य रहेका छन्।

समितिको सल्लाहकारमा रक्षामन्त्री एवम् काठमाडौं ६ का नवनिर्वाचित सांसद भीमसेनदास प्रधान, काठमाडौंका पूर्वमेयर एवं प्रदेश सांसद केशव स्थापित र विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना रहेका छन्। 

 

प्रकाशित: १३ पुस २०७४ १२:१६ बिहीबार

रानीपोखरीको निर्माण कार्य स्थगित मल्लकालिन शैली मै निर्माण गरिने