समाज

नागरिककर्मी भादगाउँले र गुरुङ पुरष्कृत

काठमाडौं– तमु पत्रकारिता पुरस्कार २०७४ बाट नागरिककर्मीद्वय अमृत भादगाउँले र मोहन गुरुङसहित ७ पत्रकार बिहीबार काठमाडौंमा सम्मानित भएका छन् ।

तमू सञ्चारकर्मी संघले भादगाउँलेलाई २० हजार १ रुपैयाँ राशीको पूर्व प्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार र गुरुङलाई १० हजार १ रुपैयाँ राशीको तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।  

लामो समयदेखि गुरुङ गाउँका पर्यटकीय संभावना उजागर गरेस्वरुप भादगाउँले र स्याङ्जामा बसेर गुरुङ संस्कृति प्रवर्धनमा योगदान पु¥याएस्वरुप गुरुङ सम्मानित भएका हुन् । कार्यक्रममा पुरस्कारका संस्थापक छत्रमान दम्पत्तिले पत्रकारहरुलाई सम्मान गरेका थिए ।   

संघले हरेक वर्ष दुई जना पत्रकारलाई प्रदान गर्दै आएको पुरस्कार भादगाउँले र एबीसी टेलिभिजनका पत्रकार डण्ड गुरुङले प्राप्त गरेका हुन् । दुबैलाई फेटा गुथेर जनही २० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र दिइएको थियो । 

त्यसैगरी लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो जलजला रोल्पाकी समाचार प्रमूख देवीकुमारी गुरुङ, सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट महिला खबर डटकम लमजुङकी सम्पादक प्रेमकुमारी घले, सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट देवदह राष्ट्रिय साप्ताहिक रुपन्देहीका सम्पादक रामबहादुर गुरुङ र तमू पत्रकारिता पुरस्कारबाट पोखराका फोटोपत्रकार राम गुरुङ सम्मानित भएका छन् ।

पत्रकार खिम घलेको संयोजकत्वमा शान्ति गुरुङ र भीम गुरुङ सदस्य रहेको छनोट समितिले पुरस्कृत व्यक्तित्वको चयन गरेको थियो । कार्यक्रममा उपस्थित सबै सहभागिले संघको प्रकाशन ‘गुरुङ न्यूज डटकम’पत्रिका लोकापर्ण गरेका थिए ।  

प्रकाशित: १३ पुस २०७४ ११:१४ बिहीबार

नागरिककर्मी भादगाउँले गुरुङ पुरष्कृत