समाज

पुनर्निर्माण प्राधिकरणको हास्यास्पद तथ्यांक

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ४६ प्रतिशत प्रगति भएको हास्यास्पद तथ्यांक सार्वजनिक गरेको छ । स्थापनाको दुई वर्ष पुगेको अवसरमा बुधबार प्राधिकरणले वास्तविकभन्दा बढी प्रगति देखाएको हो ।
प्राधिकरणकै तथ्यांकअनुसार हालसम्म ७९ हजार पाँच सय घर निर्माण भएका छन् । यो भूकम्पबाट क्षति भएका कुल सात लाख ६७ हजार घरको १० प्रतिशत मात्र हो । उक्त तथ्यांकअनुसार ६ लाख ८८ हजार घर अझै निर्माण हुन बाँकी छ । यसमध्ये एक लाख ९४ हजार घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका र निर्माणाधीन घर संख्या जोड्दा दुई लाख ७३ हजार हुन्छ । यी दुवैलाई प्रगतिको आधार मान्ने हो भने पनि कुल लाभग्राहीको ३५.६२ प्रतिशत मात्र हुन्छ ।
तर, बुधबार सार्वजनिक प्रतिवेदनमा प्राधिकरणले अति प्रभावित १४ जिल्लाको तथ्यांकबाट मात्र प्रगति देखाएको छ । त्यसमा पनि अनुदान सम्झौता नभएका लाभग्राही (घरधनी) समेटिएका छैनन् । ती जिल्लामा कुल लाभग्राही संख्या ६ लाख ६७ हजार ६ सय ६२ भए पनि प्राधिकरणको प्रतिवेदनमा अनुदान सम्झौता सम्पन्न भएका पाँच लाख ९५ हजार तीन सय ३० लाभग्राही मात्र देखाइएको छ । त्यस्तै, भूकम्पबाट कम प्रभावित १७ जिल्लाका एक लाख ४३ लाभग्राही प्राधिकरणको प्रतिवेदनमा देखाइएको ‘प्रगति प्रतिशत’ भित्र परेको छैन ।
प्रतिवेदनमा समेटिएको तथ्यांक सही भए पनि निजी आवासमा भएको समग्र प्रगति प्रतिशत वास्तविक छैन । प्राधिकरणले चलाखीपूर्ण तरिकाले प्रगतिको प्रतिशत बढी देखाएको छ ।
प्राधिकरणका उच्च अधिकारीहरुले भने पुनर्निर्माणमा उत्साहपूर्ण प्रगति भइरहेको भन्दै आफ्नो प्रतिवेदनको बचाउ गरेका छन् । ‘जग हालेका र छाना मात्र लगाउन बाँकी भएका घरलाई पनि निर्माण सम्पन्न भएको मानेका हौं,’ वार्षिकोत्सव समारोहमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै प्राधिकरणका सचिव मधुसूदन अधिकारीले भने, ‘अहिले घर निर्माणमा भइरहेको प्रगति उत्साहजनक नै मान्नुपर्छ ।’ उनले पीडितलाई निराशा जगाउने गरी समाचार सम्प्रेषण नगरिदिन समेत सञ्चारकर्मीलाई अनुरोध गरे । सचिव अधिकारीले सामूहिक प्रयासबाट पुनर्निर्माण अभियान सफल बनाउन आवश्यक भएको उल्लेख गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले प्राधिकरणको पाँच वर्षे कार्यवधिको ४० प्रतिशत समयावधिमा भएको प्रगति सन्तोषजनक रहेको बताए । यही आर्थिक वर्षभित्र ६० प्रतिशत पीडितलाई सुरक्षित छानामुनि ल्याइसक्ने आधार तयार भएको उनले बताए । ‘निजी आवास पुनर्निर्माण हाम्रो पहिलो प्राथमिकतामा छ । यससँगै अन्य क्षेत्रको पुनर्निर्माणलाई पनि तीब्र गतिमा लैजाने आधार बनिसकेको छ,’ उनले भने । निजी आवास निर्माणमा समस्याको रुपमा रहेको जनशक्ति अभावलाई पूर्ति गर्न यही पुसभित्र ५४ हजार नयाँ डकर्मी तयार हुनेगरी तालिम सञ्चालन भइरहेको उनले बताए । असक्त, वृद्धवृद्धा लगायतलाई घर निर्माणमा सहयोग गर्न विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको सिइओ भुसालले जानकारी दिए ।

प्रकाशित: १३ पुस २०७४ ०४:२९ बिहीबार

पुनर्निर्माण प्राधिकरणको हास्यास्पद तथ्यांक