समाज

सेनामा नयाँ चलखेल: सिग्देल विरुद्ध अख्तियारमा उजुरी

सहायक रथी श्री अशोकराज सिग्देललाई उपरथी दर्जाको दज्यांनी चिन्ह प्रदान गर्दै प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा। (फाइल तस्बिर)

नेपाली सेनाको भावी नेतृत्वका लागि नयाँ चलखेल सुरु भएको छ। 

रथि बढुवाको लाइनमा रहेका अर्का उपरथिमाथि पनि अख्तियार दुरुपयोगमा अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेपछि नयाँ चलखेल सुरु भएको हो।

नेपाली सेनाका उपरथि ताराध्वज पाण्डे राजीनामा दिइसकेपछि रथि बढुवाको लाइनमा रहेका उपरथि अशोकराज सिग्देलको शैक्षिक प्रमाण पत्र र नागरिकताको उमेर फरक परेको भन्दै अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। यसअघि पाण्डेको पनि अख्तियारमा उजुरी परेपछि राजीनामा दिएका थिए।

उपरथी ‘सिग्देलको जन्म मिति ‘कैफियत’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ’, अख्तियार स्रोतले भन्यो।

२९ असोजमा रथी बढुवा सिफारिस भएका अर्का उपरथी पाण्डे जन्म मिति कैफियतकै कारण राजीनामा दिइसकेका छन्। तर उनको राजीनामा स्वीकृत भएको सार्वजनिक जानकारी आएको छैन।प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ। उनीपछि सेनाको कमाण्ड कसले सम्हाल्ने भन्ने विषयमा अझै टुंगिएको छैन। रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो। तर जन्म मिति विवाद बल्झेपछि उनले राजीनामा दिए।

उनीपछिको रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने सैनिक स्रोत बताउँदै आएको बेला सिग्देलको शैक्षिक प्रमाण पत्र र नागरिकतामा जन्म मिति फरक परेको विषयमा उजुरी परेको हो। उजुरी मंसिर ४ गते परेको थियो।

प्रकाशित: ५ मंसिर २०८० १६:२५ मंगलबार