इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबिच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ। दुवै पक्षसँग रहेका युद्धवन्दीहरूलाई रिहा गराउन दुवै पक्ष युद्ध विराम गर्न राजी भएको समाचारहरू बाहिरिएका छन्। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी रिहा हुने सम्भावना बढेको छ।
युद्ध विरामको सम्भावनाबारे हमास समूहले नै आधिकारिकता दिएको छ। हमास समूहका नेता इस्माइल हानियेहले मंगलबार एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई विज्ञप्ति पठाउँदै इजरायलसँग युद्ध विराम सम्झौताको सम्भावना रहेको प्रतिक्रिया दिएका छन्।
‘हामी युद्ध विराम सम्झौताको नजिक पुगेका छौँ’, विज्ञप्तिमा हानियेहले उल्लेख गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। युद्ध विराम कतिसमयसम्म रहने भन्ने कुरा भने खुलाइएको छैन। यद्यपि दुवै पक्षबिच युद्धबन्दीहरू आदान–प्रदान गर्नेगरी सम्झौता हुन लागेको बताइएको छ। यसअघि सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमासबिच युद्ध विराम सम्झौता हुनसक्ने कुराको संकेत गरेका थिए।
युद्ध विराम सम्झौता कतार सरकारको मध्यस्तकर्तामा भइरहेको जनाइएको छ। हमासको राजनीतिक शाखा कार्यालय कतारमा नै रहेकाले मध्यस्तकर्तामा सहजता भइरहेको छ।
आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलारहमान अलथानीले बन्धकहरूको रिहाइ र अल्पकालीन युद्ध विरामको विषयमा छिट्टै सहमति हुनसक्ने बताएका थिए। बाँकी विषयमा भने सहमति हुन नसकिरहेको बताएका थिए।
प्राप्त खबरहरू अनुसार इजरायल पाँचदिन युद्ध विराम गर्न राजी भएको छ। जसमा उनले जमिनमा कुनै आक्रमण गर्नेछैन भने उत्तरी गाँजा क्षेत्रमा हवाई आक्रमण हुनेछैन। त्यसको बदलामा हमासले आफूसँग बन्धक रहेका विदेशी र केही इजरायली नागरिक रिहा गर्न सहमत भएको बताइएको छ।
यद्यपि इजरायली सैनिक भने उसले छाड्न मानेको छैन। त्यसको बदलामा इजरायलले आफूसँग बन्धक रहेका तीन सय प्यालेस्टाइनीलाई रिहा गर्नेछ।
यसरी हमास र इजरायल अल्पकालीन युद्ध विराम गरेर युद्धबन्दीहरूलाई रिहा गर्न सहमत भइरहँदा नेपाली विद्यार्थी जोशी पनि रिहा हुने आशा परराष्ट्र मन्त्रालयले देखेको छ।
‘विपीन गाँजा क्षेत्रमा सकुशल छन् भन्ने खबर प्राप्त भएको छ। उनलाई रिहा गराउन मन्त्रीज्यु र नेपाल सरकारबाट विभिन्न प्रयासहरू भइरहेका छन्,’ परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले भने, ‘यस्तोमा दुवै पक्ष सहमत हुँदा विपीन पनि रिहा भएर नेपाल फर्किने आशा बढेको छ।’
हमास समूहसँग मध्यस्तकर्ताको काम गरिरहेका कतार, इरान, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) लगायतसँग विपीनको रिहाइ गराइदिन नेपाल सरकारले सुरुदेखि नै आग्रह गर्दै आएको छ।
कतार सरकारले कूटनीतिक माध्यमबाट दिएको जानकारी अनुसार विपीन हमास समूहसँग सकुशल रहेको खबर प्राप्त भएको स्वकीय सचिव जोशीले बताए। यही कुरा शनिबार परराष्ट्र मन्त्री साउदले आफूहरूसँगको कुराकानीमा पनि बताएको विपीनका दाजु किशोर जोशीले बताए।
‘हामीले रिहाइका लागि जिम्मेवार भएर काम गरिदिन आग्रह गर्यौं। मन्त्रीज्युले विपीन सकुशल भएको खबर प्राप्त भएको जानकारी आएको बताउनुभयो। रिहाइमा आफूहरू पनि चिन्तित भएर लागेको बताउनुभयो,’ किशोरले भने।
इजरायली रक्षा बल (आइडिएफ) ले सोमबार एउटा सिसिटिभी फुटेज सार्वजनिक गर्दै फेरी पनि विपीन हमासकै कब्जामा रहेको दाबी गरेको थियो। पछिल्लो समय इजरायली सेनाले कब्जामा लिएको गाँजास्थित शिफा अस्पतालको अक्टोबर ७ तारेखको उक्त फुटेजमा दुई जनालाई अपहरण गरेर पुर्याइएको देखिएको छ।
जसमध्ये एक नेपाली र एक थाइल्यान्डका नागरिक रहेको आइडिएफले उल्लेख गरेको छ। यद्यपि पछिल्लो समय कहाँ छन् भन्ने नखुलेको आइडिएफले जनाएको छ।
आइडिएफ र इजरायलको सूचनाका आधारमा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति सार्वजनिक गर्दै विपीन अझै सम्पर्कविहीन रहेको बताएको छ।
असोज २० (अक्टोबर ७) मा हमास समूहले इजरायलका आक्रमण गरेको थियो। आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन भने उक्त घटनापछि बेपत्ता भएका थिए। प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले पनि विपीनलाई हमास लडाकुले कब्जामा लिएर लगेको बताउँदै आएका छन्।
उता हमास समूहले २४० जनालाई बन्धक बनाएको बताइएको छ। उनीहरूमध्ये बच्चा, वृद्धवृद्धा र विदेशी नागरिकहरू पनि छन्। उनीहरूलाई रिहा गराउन सुरुदेखि नै मध्यस्तकर्ताहरूले काम गरिरहेका छन्।
प्रकाशित: ५ मंसिर २०८० १२:५० मंगलबार