समाज

अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

जन्मने बित्तिकै आमा गुमाएका नवजात शिशुलाई सम्हाल्दै आफन्त । तस्बिर : दिपेन सामपाङको फेसबुक

खोटाङ– अधिक रक्तश्रावका कारण खोटाङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको मृत्यु भएको हो। 

सुत्केरी व्याथाले च्यापेपछि स्वास्थ्यचौकी दुर्छिममा भर्ना भएकी सुत्केरीको आइतबार राती १२.३० बजे मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए। आइतबार राती ९ः४५ मा छोरीलाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण केही घण्टामै सुत्केरीको मृत्यु भएको हो। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले हरप्रयास गर्दा पनि सुत्केरीको ज्यान बचाउन नसकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 

अधिक रक्तश्राव नरोकिएपछि अन्यत्र लैजाने तयारी कै क्रममा सुत्केरीको मृत्यु भएको स्वास्थ्यचौकीले जनाएको छ। ‘अक्सिटोसिन दिन लगाएँ, व्लड रोक्ने हरेक उपाय गर्न लगाउँदा पनि सुत्केरी बचाउन सकिएन,’ डा. केसीले भने, ‘सयमा एक जनामा यस्तो समस्या देखिने गरेको पाइएको छ।’ 

पहिलो बच्चा जन्माउने क्रममै सुत्केरी महिलाको मृत्यु भएपछि पीडितपक्ष भने आक्रोशित भएका थिए । आमाको मृत्यु भएपछि नवजात शिशुको लालनपालनमा कठिनाई भएको छ। 

 

प्रकाशित: १२ पुस २०७४ ०६:३३ बुधबार

अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु