समाज

जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक

विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले तालमा मोटरबोट सञ्चालनमा रोक लगाएको हो।

स्थानीय संस्था जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले गत कार्तिक २८ गते देखि तालमा मोटरबोट संचालनमा ल्याएको थियो। मोटरबोट सञ्चालन भएपछि चरा विदहरुले त्यसको विरोध गरेका थिए। पन्क्षी आरक्षण व्यवस्थापन कार्य योजनामा नरहेको र चराहरुको बास स्थानमा नै खलल पुगको भन्दै डिभिजन वनले मोटरबोट सञ्चालनमा रोक लगाएको हो। 

कार्य योजना मै नरहेको र बिना जानकारी सञ्चालन गरेपछि तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको डिभिजन वन कार्यालयका प्रमुख बिजयराज सुवेदीले बताए।

तालमा सञ्चालनमा रहेका मोटरबोटलाई रोक्न प्रमुख स्ुवेदीले वन रक्षकहरुलाई सोमवार बिहानै पठाएका थिए। सोमवार बिहानदेखि नै तालमा मोटरबोट सञ्चालन बन्द भएको प्रमुख सुवेदीले बताए। 

‘कार्ययोजना मै नरहेको कुरा मञ्चले जबरजस्ती सञ्चालन गर्यो, त्यसैले हामीले मोटरबोट संचालनमा रोक लगायौ’ उनले भने। मोटरबोटले तालमा रहेको चार तथा जिवजन्तुलाई आउने आवाज र पानीको छालले बास स्थान नै संकटमा परेको सुवेदीले बताए। कार्य योजना अनुसार तालमा ५ वटा पेडलबोट भने सञ्चालन मै रहेको जानकारी उनले दिए।

तालको पश्चिमी क्षेत्रको करिब ५ हेक्टर क्षेत्रमा स्टिमर चलाइएको थियो। मञ्चले ०७६ सालदेखि यहाँ पाइढल ढुंगा ठेक्का लगाउँदै आएको छ। वरिष्ठ चराविद् डा. हेम सागर बरालले चराहरुको बास स्थान नै संकटमा पर्ने भएकाले तालमा मोटरबोट सञ्चालन गर्न नहुने बताए।

कपिलवस्तु नगरपालिकाले मञ्चलाई स्टिमर खरिदका लागि ५ लाख अनुदान दिएको थियो। मञ्चले थप लगानी गरी १३ लाख ५० हजारको लागतमा स्टिमर खरिद गरिएको जनाएको छ।

मञ्चका अध्यक्ष ललित गुरुङले पर्यटक तान्न र स्थानीयललाई आय आर्जनसँग जो्डन तालमा मोटरबोट सञ्चालन गरिएको बताए। उनले चराहरुको बासस्थान र आगमनलाई रोक्ने आफूहरुको मनासय नरहेको उनले बताए।

आफूहरुले परीक्षणका रुपमा मात्र मोटरबोट सञ्चालन गरेको उनले बताए। स्टिमर चढ्न दैनिक ४ सय पर्यटक आउने गरेका थिए। १५७ हेक्टरमा फैलिएको नेपालकै दोस्रो पन्क्षी आरक्ष क्षेत्र जगदीशपुरले हिउँदमा मात्रै १५ देखि २० हजार आगन्तुक चरालाई आश्रय दिँदै आएको छ।

सन् २००१ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत उक्त ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वर्ड सेन्चुरी घोषणा गरिएको थियो। हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट चिसो छल्न, फुल पार्न र बचेरा हुर्काउन आउने चराहरू तालम आउने गर्छन्।  

प्रकाशित: ५ मंसिर २०८० ०८:४० मंगलबार

जगदीशपुर ताल मोटरबोट सञ्चालनमा रोक डिभिजन वन कार्यालय कपिलवस्तु