समाज

निषेधित क्षेत्र घोषणासँगै माइतीघर थापाथली सर्भिस लेन सडक सञ्चालनमा

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमा आएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै माइतीघरमा आन्दोलनरत पक्षलाई पनि हटाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै माइतीघर क्षेत्रमा आन्दोलनरत पक्षलाई हटाइएको बताए ।‘जिल्ला प्रशासन कार्यालयले माइतीघर लगायतका क्षेत्रमा सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ,’ उनले भने‘सोही अनुसार मंगलबार बिहानैदेखि माइतीघर(थापाथली सडक लेन पनि सञ्चालनमा आएको छ।’ माइतीघरमा रहेका आन्दोलनकारीले लामो समयदेखि माइतीघरहुदैँ थापाथली जाने सर्भिस लेनको दायाँ(बायाँ टेन्ट गाँडेर प्रदर्शन गर्दै आइरहेका थिए।

जसको कारणले सो लेनमा सवारी आवागमन प्रभावित हुँदै आइरहेको थियो।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्न्यातको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सोमबारदेखि लागु हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो।निषेधित क्षेत्र घोषणा भएपछि अब यी क्षेत्रमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुने, भेला हुने,जुलुस निकाल्ने, धर्ना, घेराउ गर्ने, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रकाशित: ५ मंसिर २०८० ०३:५९ मंगलबार

निषेधित क्षेत्र घोषणासँगै माइतीघर थापाथली सर्भिस लेन सडक सञ्चालनमा