समाज

चाडपर्वको मुखमा सडक दुर्घटना अत्यधिक

उपत्यकामा सडक दुर्घटनाले सातामा औसत ४ को मृत्यु

दसैं र तिहारजस्ता मुख्य चाडपर्व सम्पन्न भए पनि यही बेला सडक दुर्घटना बढी हुने भएकाले दुर्घटनामा मारिने परिवारमा पीडाको सिलसिला सुरु हुन्छ।

उपत्यकामा बढ्दै गइरहेको सवारी दुर्घटना आम जनमानसमा चिन्ताको विषय बन्दै गइरहेको छ। नेपालमा मात्रै नभएर हरेक मुलुकमा विभिन्न प्रकारका सवारी दुर्घटना हुने गरेका छन्। सजिसजावटका साथ पर्व–खुसीको रौनक छाएका बेला दुर्घटनामा परेर परिवारका सदस्य गुमाउँदाको पीडा असह्य हुन्छ।

मुख्य चाडपर्वकै बेला उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा मानिसहरू सडक दुर्घटनामा परेका दुःखद खबर आउने गरेका छन्। बजार, साथीसँगी अनि इष्टमित्र भेटघाट साथै घुम्न जाने भनेर निस्किएका धेरै मानिस घर फर्किन पाउँदैनन्। उनीहरू सडक दुर्घटनामा परी आधा बाटोमै अस्ताउँछन्। सडकमा हुने सानो गल्तीका कारण मानिसको मूल्यवान् जीवनको अन्त्येष्टि आधा बाटोमै हुन्छ।

सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्। चाडबाडका बेला आवतजावतमा सबैले हतार गर्नाले बढी दुर्घटना हुने गरेको उनले बताए।

‘मानिसहरू कुनै सभा, भवन, पार्टी र घरपरिवारसँग हुँदा आरामले समय बिताउने गरेका हुन्छन्,’ उनले भने, ‘जब सवारी साधनमार्फत कुनै गन्तव्यसम्म जानु पर्दा सबै मानिसलाई समयको पनि महत्त्व हुन्छ। सवारी साधन चलाएको केही मिनेटमै मृत्युको मुखमा पुग्छन्। प्रायः मानिसको सोच नै कति बेला गन्तव्यमा पुग्ने भन्ने हुन्छ। उनीहरू धेरै हतारमा हुन्छन्। जसका कारण गन्तव्यसम्म नपुग्दै मृत्युलाई अँगाल्ने गरेको पाइन्छ।’

एसएसपी भट्टका अनुसार धेरैले सवारी साधन चलाउँदा बाटोमा ध्यान दिएका नै हुँदैनन्। सडकमा सवारी साधन चलाउँदा उनीहरूलाई यो खाली समय हो भन्ने आभास हुने गरेको छ। धेरै मानिस मोबाइल फोनमा कुरा गर्दै हिँडेका हुन्छन्। ट्राफिक नियम उलंघन गरेका हुन्छन्। सडक खाली देख्नै हुन्न, तीव्र तथा द्रुतगतिमा सवारी चलाइहाल्छन्। जसका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ।

‘चाडपर्वका बेला दुर्घटना न्यूनीकरणका लागि प्रायः चोकहरूमा ट्राफिक चेकिङ हुन्छ,’ उनले भने, ‘चाडपर्वकै बेलामा झन् धेरैले मादक पदार्थ सेवन गरेर हिँडेका हुन्छन्। आवश्यकताभन्दा बढी यात्रु सवारी साधनमा सवार हुन्छन्। दसैं–तिहारजस्ता चाडपर्वका बेला विशेषगरी पर्व अगावै वा सकिएपछि सहरबाट ग्रामीण क्षेत्रमा जाँदै गर्दा वा ग्रामीण क्षेत्रबाट सहर फर्कने क्रममा मानिसहरू सडक दुर्घटनामा पर्ने गरेका छन्।’

उनका अनुसार दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गर्छन्। यसका तुलनामा सार्वजनिक यातायातको दुर्घटना कम मात्रामा हुने गरेको छ। दसैं–तिहारका बेला हुने दुर्घटनामा धेरै व्यक्तिको ज्यान जाने गरेको छ। नेपालको सडक दुर्घटनाको प्रवृत्ति हेर्दा सहरमा हुने दुर्घटनामा धेरै मानिसको मृत्यु हुने गरेको छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारी साधनको गति तीव्र हुनु पनि हो।

सडक दुर्घटनाको मुख्य कारण पूर्वाधार, मानवीय कारण र सवारी साधनको अवस्था रहेको एसएसपी भट्टले बताए। अदक्ष चालक तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनु, चाडपर्वका बेला आराम नगरीकन सावरी साधन चलाउनु जस्ता कारणले पनि दुर्घटना बढाएको उनको भनाइ छ।

‘विश्वमा हवाईजहाज, पानीजहाज र रेलजस्ता धेरै मानिस बोक्ने सवारी साधनहरू दुर्घटनामा पर्दा ठुलो मात्रामा मानवीय क्षति हुन्छ,’ उनले भने, ‘राजधानीमा भने सडक दुर्घटनाका कारण ज्यान मात्र गुमाउनेको औसत संख्या हप्तामा ४ रहेको छ। वार्षिक तथ्यांक हेर्ने हो भने अवस्था धेरै भयावह रहेको छ। नेपालमा संख्यात्मक हिसाबले हेर्दा दुई पाङ्ग्रे सवारी साधन धेरै छन्। जसका कारण पनि यस्ता सवारी दुर्घटनाको तथ्यांक बढी देखिन्छ।’

एसएसपी भट्ट भन्छन्, ‘सडकको सवारी क्षमताभन्दा सवारी साधनको चाप अत्यधिक मात्रामा बढ्दै जाँदा दुर्घटनाको संख्या र मानवीय क्षति दुवै बढ्दै गइरहेको छ। उपत्यकाभित्र मृत्यु हुनेको संख्या धेरै हुने मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन नै हो।’

उनका अनुसार चाडपर्वका बेलामा अधिकांश सडक खुला हुन्छन्। जसले गर्दा सवारी साधन तीव्र गतिमा चलाउँछन्। तीव्र गतिकै कारण चालक तथा यात्रुको अकालमै मृत्यु हुन्छ। अझ उपत्यकाबाहिरका ठुला राजमार्गमा अस्पतालहरू नहुँदा राजमार्ग र राजमार्ग आसपासका सडक दुर्घटनाका घाइतेलाई समयमै उपचार गर्न नपाउँदा मृत्युदर झनै बढेको छ।

मानिसहरूको सामान्य त्रुटिका कारण दुर्घटना हुन पुग्छ। चालकको लापरबाहीका कारण दुर्घटना बढी हुन्छ। त्यति मात्र नभई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, तीव्र गतिमा सवारी चलाउँदा, चालकले मोबाइलको प्रयोग गर्दा, सडकको अवस्था र ट्राफिक नियमबारे ज्ञान नहुँदा, निद्रा तथा थकित अवस्थामा सवारी साधन चलाउँदा, पैदलयात्रीले जथाभावी बाटो काट्दा, सडकमा जथाभावी बिस्कुन सुकाउँदा र जेब्राक्रस तथा फुटपाथ एवम् आकासे पुलको प्रयोग नगर्दा सडक दुर्घटना बढी हुने गरेको भट्टले जानकारी गराए।

‘उपत्यकाका सडकको कालोपत्रे लामो समयसम्म टिकाउ हुँदैन,’ भट्टले भने, ‘समयमै सडक विस्तार र मर्मत तथा खाल्डाखुल्डी नपुर्दा दुर्घटना थपिन्छन्। प्रायः मानिस कालोपत्रे सडक देख्ने बित्तिकै तीव्र गतिमा सवारी हाँक्छन्। सडकका खाल्डाखुल्डीको समेत वास्ता गर्दैनन्। त्यसैले दुर्घटनामा परी ज्यान गुमाउने पनि धेरै छन्।’

उनले अगाडि थपे, ‘उपत्यकाभित्रै सवारी चलाउने मानिस तथा स्थानीयलाई सधैं सवारी चलाइरहने मुख्य सडक वा सहायक सडकबारे ज्ञान हुँदा दुर्घटना कम हुन्छ। उनीहरूलाई बाटोको घुमाउरोपन तथा खाल्डाखुल्डीबारे जानकारी हुन्छ तर कहिल्यै नगएको बाटोमा तीव्र गति, मादक पदार्थ सेवन गरी वा अन्य लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको छ।’

सवारी दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालकहरू हुन्छन्। पैदलयात्रीले मनोमानी पूर्वक बाटो काट्दा र अव्यवस्थित रूपमा सवारी साधन चलाउँदा दुर्घटनाको तथ्यांकले बृहत् रूप लिएको भट्टले बताए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने, लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको हेर्ने, सवारीको गति मापन गर्ने, तेस्रो पक्ष बिमा गरेको छ छैन जाँच गर्ने, सवारीको यान्त्रिक अवस्था परीक्षण गर्ने जस्ता कार्य ट्राफिक प्रहरीले गर्दै आएको छ।

‘भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरणको कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा दक्ष जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको छ,’ उनले भने।

हरेक वर्ष हुने दुर्घटना संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्यांकन नै छैन। दुर्घटनाबाट हुने सबैभन्दा ठुलो क्षति मानवीय नै हो। आफन्त गुमाउनुपर्दा पारिवारका अन्य सदस्य र आश्रितहरूले सहनुपर्ने पीडा अकल्पनीय हुन्छ। बढी सवारी चालक आफैंले सवारी हाँक्दा सतर्कता अपनाउँदै ट्राफिक नियम उलंघन गर्न नहुने एसएसपी भट्टको सुझाव छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनाबाट उपत्यकामा मात्रै आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्ममा ३४ हजार ६ सय ९५ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परेर उपत्यकामा मात्रै ५ सय ९६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ८ सय ४४ जना गम्भीर घाइते भएका छन् भने २६ हजार ६ सय १९ जना घाइते र अर्बौँको भौतिक क्षति भएको छ।

नेपालभर ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्थाकै कारण भएका सवारी दुर्घटनामा दैनिक सरदर ७ जनाभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। सडक दुर्घटनाको संख्या बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ। सडक दुर्घटनामा ५ वर्षदेखि २९ वर्ष उमेर समूहका मानिस बढी परेको पाइन्छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालभरबाट गत आर्थिक वर्षमा २०७९/८० मा मात्रै देशभर २३ हजार ५ सय ९७ सवारी दुर्घटना भएकामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ७६ छ। यस्तै ५ हजार ७ सयभन्दा बढी गम्भीर घाइते तथा २४ हजार ४ सयभन्दा बढी सामान्य घाइते भएका छन्।

प्रकाशित: ४ मंसिर २०८० १२:१५ सोमबार