समाज

रुकुम पश्चिम जिप दुर्घटना, एक बालकसहित दुईको मृत्यु (अपडेट)

रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो।

वलीको चौरजहारी अस्पतालमा उपचारका क्रममा र बालकलाई थप उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप सोमबार मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने चौरजहारी नगरपालिका–८ गैरीज्यूला सडकबाट दुई सय ५० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई नेपालगन्ज हेलिकप्टरमार्फत लिने  तयारी भइरहेको छ। बाँकीको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०८० ०७:२४ सोमबार

जिप दुर्घटना