समाज

‘छठको आदिभूमि’मा सर्वधर्म पर्व

लोक पर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटलाई दुलहीझैं सजाइएको छ।

छठघाटमा व्रतालुहरूलाई राति जाग्राम बस्न सजिलो होस् भनेर धार्मिक कार्यक्रमका लागि सजाइएको मञ्चमा बज्जिका भाषामा लेखिएको छ, ‘समनपुरमा उत्पत्ति भएर विश्वभर विस्तार भइसकेको छठ पवनीको आदिभूमि समनपुर छठघाटमा सम्पूर्ण व्रतालु, श्रद्धालु र आगन्तुकलाई स्वागत गर्दै सबैको मनकामना पूरा होेस् भन्ने शुभकामना व्यक्त गर्दछौं।’

रौतहटको गढीमाई नगरपालिका-२ समनपुरका वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ भन्छन्, ‘छठ पवनीको आदिभूमि समनपुरको बागमती किनारमा सबै धर्मावलम्बीले श्रद्धा, निष्ठा र भक्तिपूर्वक छठ पर्व गरेका छन्।’

समनपुर घाटमा हिन्दु समुदायभित्रका सबै जातजातिका साथै नेवार र मुस्लिम समुदायले पनि छठ पवनी गर्ने गरेका छन्। छठको कठोर व्रत सबै धर्म र सबै जातको साझा पर्व भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

आदिकालमा पाण्डवको अज्ञातवास सफलताका लागि पहिलोपटक द्रौपदीले छठ पर्वको सुरुआत समनपुरकै बागमती किनारमा गरेको र यहीस्थित महादेव मन्दिरमा रहेको गुफामा पसेर गुप्तवासको सुरुआत गरेको किंवदन्ती रहेको छ।

बागमती किनारमा हुने छठ पूजा समितिका अध्यक्ष अमितकुमार सोनीले सबै धर्मको साझा पर्वको रूपमा रहेको छठको आदिभूमिमा छठ पर्वको मौलिकता देख्न पाइने बताएका छन्।

स्थानीय समाजसेवी कामेश्वर सहनीले छठको आदिभूमि समनपुरमा मुस्लिम समुदायका पनि कैयौं पुस्तादेखि छठ पर्वको व्रत गर्ने गरेको बताए। गाउँमा दलितदेखि मुस्लिम तथा नेवार समुदाय समेतले छठपर्व अत्यन्त मर्यादित किसिमले मनाउने गरेको समाजसेवी सहनी बताउँछन्।

स्थानीय मुस्लिम अगुवा नेक महम्मदले समनपुरघाटमा तीन दर्जनभन्दा बढी मुस्लिम परिवारका तर्फबाट अर्घ दिने गरेको बताउँछन्।

कम्तीमा दुई परिवारले सम्पूर्ण नियम, नीति र निष्ठापूर्वक विधि पूरा गर्दै छठ पवनीघाटमा नै गर्ने गरेको नेक महम्मदको भनाइ छ।

उनी भन्छन्, ‘भाकल पूरा भएपछि मुस्लिम समुदायले पनि छठ मनाउने गरेका छन्।’ स्थानीय सबै मुस्लिम समुदायको छठप्रति श्रद्धा र विश्वास रहेको नेक महम्मदको भनाइ छ।

समनपुरका नौ घर नेवार समुदायले आस्था र निष्ठापूर्वक छठ पवनी मान्ने गरेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ। श्रेष्ठ भन्छन्, ‘मेरो परिवारमा पनि छठ मनाउने गरिएको छ।’ आफ्नो वडाको तीन ठाउँमा छठ हुने गरेको बताउँदै वडाध्यक्ष श्रेष्ठ भन्दछन्, ‘तराईमा यत्तिको उत्साहपूर्वक मनाइने कुनै पर्व छैन।’

स्थानीय रवीन्द्र सहनीले भने, ‘छठ पर्वको विषयमा कहिल्यै कुनै विवाद नभएको आदिभूमि समनपुरमा सबै जात र धर्मको साझा पर्व हुने गरेको छ।’

पूजा समितिका अध्यक्ष सोनीले यसपटक छठघाटको व्यवस्थापनमा कम्तीमा आठ लाख रूपैयाँ खर्च भएको बताउँदै छठघाट व्यवस्थापनका लागि आर्थिक स्रोत सर्वसाधारण व्रतालु परिवार नै हुने गरेका छन्। समाजका अगुवाहरूले छठको लागि आफूखुसी नै चन्दा दिने गरेको सोनी बताउँछन्।

समाजसेवी कामेश्वर सहनीले छठ पवनीको आदिभूमि भएकाले समनपुरले छठको दायित्व र संस्कार दुवै बुझेकोले संस्कृति निर्वाह गर्न जहिले पनि अग्रभूमिका निर्वाह गर्ने गरेको बताए।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले छठको आदिभूमि समनपुरमा छठ पवनीको दिन पुगेर दर्शन गर्न पाउने अवसर मात्र पनि छठ व्रतालु तथा श्रद्धालुको लागि महत्वपूर्ण हुने गरेको बताए।

अध्यक्ष श्रीकृष्णले भने, ‘स्रोत र परिवेशले समनपुरबाट नै छठ पवनीको सुरुवात भई विश्वमा विस्तार हुन गएको देखिएको छ।’

प्रकाशित: ४ मंसिर २०८० ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App