समाज

सुरक्षा गणमा आउन थाले प्रहरी

कर्णाली प्रदेशमा नयाँ स्थापना भएको विशेष सुरक्षा प्रहरी गणमा प्रहरी सर्न थालेका छन्। लुम्बिनी प्रदेशको बाँकेमा रहेको गण कर्णाली प्रदेशको सुर्खेतस्थित गुर्भाकोट १४ गुमीमा स्थापना भएसँगै प्रहरी आउन थालेका हुन्।

कर्णालीका लागि विशेष सुरक्षा गण भए पनि कर्णालीमा कहाँ राख्ने निर्णय र बजेट नहुँदा अलमलमा थियो। गण स्थापनाका लागि मर्मत–सम्भारको सुरुमा ३५ जना प्रहरी बसेका थिए। हाल भवन मर्मत भइरहेको र गणमा प्रहरी आउने क्रम चलिरहेको छ।

दसैं–तिहारका कारण भवन मर्मत–सम्भारमा ढिलाइ भए पनि अब गति लिने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘बढीमा एक महिनाभित्र भवन तयार हुनेछन्’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले भने, ‘भवन निर्माणसँगै गणमा प्रहरी पूर्ण हुनेछन्।’

विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाको अस्थायी शिविर राखिएको जग्गामा नेपाल सरकारको निर्णयअनुसार विशेष सुरक्षा गण स्थापना गरिएको हो। साढे चार बिघा जग्गा नेपाल प्रहरीका नाममा आएपछि गणको भौतिक संरचना तयार भइरहेको हो। गणमा पाँच सयजना प्रहरी दरबन्दी रहेको छ।

कर्णाली प्रदेश सरकारले तत्काल मर्मत–सम्भार गरी बस्नका लागि एक करोड ९४ लाख रकम दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए।

 ‘गण स्थापनाका लागि हाल गुमीमा प्रहरी तैनाथ छन्’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भट्टराईले भने, ‘सरकारले दिएको रकमले तत्काल मर्मत–सम्भार भइरहेको छ’, गणका एसपी रामप्रसाद घर्तीले नेतृत्व सम्हालेका छन्।

सुर्खेतमा गण स्थापनापछि कर्णालीभर शान्तिसुरक्षाका लागि तत्काल पुग्न सहज हुनेछ। यसका लागि गण सुर्खेतको गुमीमा भए पनि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भीमप्रसाद ढकालले छिटो प्रहरी परिचालन होस् भनेर गणबाट प्रहरी रुकुम (पश्चिम) को चौरजहारी ७५ जना र दैलेखको राकम कर्णालीमा ५० जना तैनाथ गरिने कार्ययोजना बनाएका छन्, जसमा हाल चौरजहारी र दैलेखमा पठाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दैलेखको राकम कर्णालीमा रहेका प्रहरीलाई दैलेखसहित कालिकोट, जुम्ला, हुम्ला र मुगुमा तत्काल पुग्न सहज हुनेछ भने चौरजहारीमा रहेका प्रहरीलाई सल्यान, जाजरकोट र रुकुमपश्चिम पुग्न सहज हुनेछ।

डिआईजी ढकालको सक्रियतामा गण, तालिम केन्द्रलगायतका प्रहरी संरचना सुर्खेतमा ल्याउने अन्तिम चरण भएको हो। प्रहरी तालिम केन्द्र पश्चिम सुर्खेतको बाबियाचौरमा राख्ने तयारी भइरहेको छ।

प्रकाशित: ३ मंसिर २०८० ०३:३४ आइतबार

कर्णाली प्रदेश सुरक्षा गणमा आउन थाले प्रहरी