समाज

स्थानीय स्तरबाट पौने २ करोडको सोलार लिफ्टिङ खानेपानी (भिडियो)

सानुसिरुवारी (सिन्धुपाल्चोक)- चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेले। जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोड्यो।   खानेपानी अभाव टार्न दशकअघि स्थानीयले झण्डै ३५ किमी टाढाबाट ल्याएको जुगल–थालखर्क–होल्चे खानेपानी आयोजनाको साहारा लिनु पर्‍यो । त्यैपनि संकट टरेन । नुहाइ धुवाइ गर्न त त्यस्तै हो, पानी खानकै लागि धौ–धौ हुन थाल्यो । गाउँमूनि डेढ किमी तल मजुवा खोल्सीमा पानी बगेर त्यसै खेर जान्थ्यो।

यस्तो स्थानीयले जुक्ति निकाले मजुवा खोलाको पानी लिफ्टिङ गरेर तान्ने र खानेपानी अभावको समाधान निकाल्ने। यसका लागि ठूलो धनराशी चाहिन्थ्यो, त्यत्रो पैसा गाउँलेसँग थिएन । उनीहरुले संघसंस्थालाई हागुहार गरे, वैकल्पिक उर्जा प्रवद्घन केन्द्रको शरणमा पुगे।

वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाले झण्डै १ करोड ३० लाख रुपैयाँ दिने भयो । जनहित ग्रामीण सेवा समितिले स्थानीय साझेदार संस्थाको रुपमा काम गर्न अग्रसरता देखायो । वैकल्पिक उर्जाले ४० लाख रुपैयाँ अनुदान उपलब्ध गरायो।

मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी आयोजना नाम दिएर गएको जेठदेखि स्थानीय निर्माणमा कस्सिए । ६ महिनामै गाउँलले सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरेर वालछ्याल पानी सदुपयोग गर्ने सपना साकार पारेका छन्। ‘३२ लाख रुपैयाँ बराबर त श्रमदानै गर्‍यौँ,’ उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नागरिकन्यूजसँग भने।

स्थानीय अहिले खानेपानी धारा वितरण र जडानमा ब्यस्त छन् । २ सय ८१ परिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसाथ काम गरिरहेको उपभोक्ता समितिले १ सय ३५ घरपरिवारलाई धारा वितरण गरिसकेको छ । उनीहरु महिनादेखि भरपुर खानेपानी प्रयोग गरिरहेका छन्।

१२ हजार ४ सय वाट क्षमताको सोलार प्यानले लिफ्टिङ गरेको मजुवा बगरको पानी १४ सय मिटरमाथिको संकलन ट्यांकीमा पुर्‍याएपछि घर–घरमा बितरण भइरहेको छ। इन्टेकमा संकलन भएको पानी पहिलो ४८ वटा सोलार प्यानले तानेर पहिलो ट्यांकीमा पुर्‍याउँछ। पहिलो ट्यांकीमा संकलन भएको पानी दोस्रो ४८ वटै सोलार प्यानलले लिफ्टिङ गरी अन्तिम अर्थात संकलन ट्यांकीमा पुर्‍याउँछ।

यो लिफ्टिङ आयोजनाले खानेपानी मात्र दिएको छैन, भूकम्पपछिको पुनर्निर्माणलाई नै सघाउन थालेको छ । पानी अभावमा यहाँ व्यक्तिगत आवास निर्माण हुन सकेको थिएन । पानी सहज उपलब्ध हुन थालेपछि यो गाउँमा महिनादेखि पुनर्निर्माण तीव्र भइरहेको उपभोक्ता समितिका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए।

यो आयोजनाले साविक सानुसिरुवारी गाविसका वडा नं. १,२,३ र ९ का साथै साविक चौतारा–२ का केही घरपरिवारलाई लाभ दिएको छ । निर्माण सम्पन्न भइसकेकाले केही समयमै आयोजना स्थानीयलाई हस्तान्रण गरिने साझेदार संस्था जनहित सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । उनका अनुसार आयोजनामा श्रमदानसहित झण्डै पौने २ करोड रुपैयाँ लगानी भएको छ । यो जिल्लामै पहिलो सोलारजडिट लिफ्टिङ खानेपानी आयोजना हो।

           

           

प्रकाशित: ८ पुस २०७४ १२:४९ शनिबार

स्थानीय स्तरबाट पौने करोडको सोलार लिफ्टिङ खानेपानी भिडियो