समाज

ढुंगा खानीमा पुरिएका युवाको मृत्यु

खोटाङ– खोटाङमा ढुंगा झिक्नेक्रममा ढुंगा खानीमा पुरिएका युवाको मृत्यु भएको छ। ढुंगा खानीमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढुंगामाटोले पुरिँदा घाईते भएका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडक खण्डको सोल्मास्थित ढुंगा खानीबाट ढुंगा झिक्नेक्रममा पुरिएर गम्भीर घाईते भएका श्रेष्ठको जिल्ला अस्पताल दिक्तेलमा उपचारकोक्रममा शुक्रबार साँझ मृत्यु भएको हो।

खानीबाट ढुंगा झिकेर ढुंगाको व्यवसाय गर्दै आएका श्रेष्ठलाई शुक्रबार दिउँसो ढुंगामाटोले पुरेको प्रहरीले जनाएको छ। कम्मरमुनिको भाग ढुंगाले किचेको अवस्थामा श्रेष्ठलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको स्थानीय ध्रुबबिक्रम राईले बताए। उनी आफ्नै काका दिलबहादुर श्रेष्ठसँग ढुंगा झिक्नेक्रममा पुरिएका हुन् । मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । श्रेष्ठले खानीबाट निकालेको ढुंगा ट्याक्टरमार्फत दिक्तेलका विभिन्न ढुवानी गरेर बिक्री गर्दैआएका थिए। उनका एक नाबालिका छोरी र श्रीमती छन्। मृत्युपछि परिवारको बिचल्ली भएको छ।

प्रकाशित: ८ पुस २०७४ १०:११ शनिबार

ढुंगा खानीमा पुरिएका युवाको मृत्यु