समाज

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

काठमाडौं- वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा (जुद्ध वारुणयन्त्र) का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

यहाँ अग्नि नियन्त्रकका लागि न कुनै मापदण्ड छ न ऐनकानुन । सामान्य व्यक्तिलाई भर्ना लिइन्छ, भोलिपल्टै आगो निभाउन पठाइन्छ । यस्तो जोखिमपूर्ण काममा खटिनेहरू भगवान् भरोसामै छन् ।

‘बिहान ग्यास चुहियो भनेर फोन आयो, मैले तुरुन्त दमकललाई त्यसतर्पm जान निर्देशन दिएँ । उनीहरू (अग्नि नियन्त्रक) कुदिहाले,’ वीरगन्ज महानगरपालिकास्थित जुद्ध वारुणयन्त्रका कमान्डर शेरबहादुर कार्कीले टेलिफोनमा नागरिकसँग भने ।
‘आगोबाट बच्न अग्नि नियन्त्रक आवश्यक सुरक्षित पोसाक (हेल्मेट, चस्मा, ज्याकेट, बुट, पन्जा आदि) नलगाई आगो निभाउन गएका थिए ?’
‘हो,’ कार्कीले भने ।
‘किन त ?’
‘हामीसँग त्यस्तो सुरक्षित कपडा नै छैन,’ कार्कीले भने ।

आगो निभाउन घटनास्थलमा जानुअघि अग्नि नियन्त्रकले अनिवार्य रुपमा आगोले नपोल्ने र नजल्ने (४ देखि ५ मिनेटसम्म) सुरक्षित पोसाक लगाउनुपर्छ । तर, यो न्यूनतम आवश्यकतालाई सरकारले पूरा नगर्दा बुधबार वीरगन्जमा दुईजना अग्नि नियन्त्रकले ज्यान गुमाउनुप¥यो ।
‘हामीलाई आगो निभाउने सामान्य तालिम मात्र दिइएको छ । ग्यास, पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थमा आगो लाग्दा कसरी निभाउने भनेर तालिम दिइएको छैन,’ कार्कीले भने । बुधबारको घटनामा अग्नि नियन्त्रकले ज्यान गुमाउनुपरेको अर्को कारण थियो आवश्यक तालिम अभाव । सरकारले अहिलेसम्म अग्नि नियन्त्रकलाई यस्तो तालिमको व्यवस्था गर्न सकेको छैन ।  
‘हामीसँग आगोबाट बच्नका लागि लगाउने कपडा छैन । हालसम्म कसैले दिएको पनि छैन । अग्नि नियन्त्रकसँग आगो निभाउन जानुअघि लगाउने एउटा हेलमेटमात्र छ, त्यो पनि पुरानो भइसक्यो,’ कार्कीले सुनाए ।  
वीरगन्जको जस्तो घटना जुनसुकै स्थानमा दोहोरिन सक्छ । तर नेपालभित्र प्रायः सबै ठाउँमा रहेका अग्नि नियन्त्रकको अवस्था उस्तै छ । अग्नि नियन्त्रकलाई न त आवश्यक तालिम नै दिइन्छ न सुरक्षित सामग्री । सबै परम्परागत शैलीमा चलिरहेको छ । ‘यस्तो घटना अन्यन्त्र पनि दोहोरिन सक्छ । यस्तो हुन नदिन सबैजना सचेत हुन त पर्छ नै, साथै अग्नि नियन्त्रकको सुरक्षाको राम्रो व्यवस्था हुनुपर्छ,’ वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले भने ।
विदेशमा अग्नि नियन्त्रक भर्ना गर्नेदेखि अवकाश पाउनेसम्मको मापदण्ड हुन्छ । तर नेपालमा अहिलेसम्म अग्नि नियन्त्रकका लागि न कुनै मापदण्ड बनाइएको छ न ऐनकानुन । सामान्य व्यक्तिलाई भर्ना लिइन्छ, भोलिपल्टै आगो निभाउन पठाइन्छ । त्यसैले आगो निभाउनेजस्तो जोखिमपूर्ण काममा खटिने अग्नि नियन्त्रकहरु भगवान् भरोसामै रहेका हुन्छन् ।
विदेशमा ४० वर्षसम्मको व्यक्तिमात्र अग्नि नियन्त्रकका रूपमा आगो निभाउन घटनास्थलमा जान पाउँछन् । हामीकहाँ यस्तो केही छेकबार छैन । यो मापदण्ड नेपालमा पनि लागू गरिएको भए बुधबार दुई अग्नि नियन्त्रकको ज्यान जाँदैनथ्यो । बुधबार आगोमा जलेर मृत्यु भएका दुवै अग्नि नियन्त्रक ४० वर्षमाथिका थिए ।
काठमाडौं उपत्यकाको जुद्ध वारुणयन्त्र कार्यालयमा अग्नि नियन्त्रकका लागि आवश्यक सुरक्षित पोसाक भए पनि काठमाडौंबाहिरका अधिकांश कार्यालयमा यस्तो पोसाक छैन । यस्ता कार्यालयमा कार्यरत अग्नि नियन्त्रक सामान्य नागरिक जसरी नै आगो निभाउन जाने गर्छन् ।
काठमाडौंमा भएका सुरक्षित पोसाक पनि सरकारले किनिदिएको  होइन । यहाँको बेहाल देखेर विदेशीले अनुदान दिएका हुन् ।

‘हामीकहाँ अग्नि नियन्त्रकका लागि विशेष तालिम र सुरक्षा सामग्री नहुँदा ठूला दुर्घटना हुने गरेका छन् । तालिमले नै कस्तो आगो निभाउन जाँदा कसरी जाने र निभाउने भन्ने ज्ञान दिन्छ । बुधबारको घटनामा तालिम पाएको व्यक्ति थियो भने घटनास्थलको १ सय मिटर टाढै बसेर आगो निभाउने प्रयास गथ्र्यो,’ काठमाडौं जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्री नगरकोटीले भने ।
पेट्रोल, ग्यास, विद्युत् सर्ट आदिबाट लाग्ने आगो निभाउन प्रयोग गर्ने रसायन फरकफरक हुन्छन् । अग्नि नियन्त्रकलाई यी सबैको कुराको ज्ञान तालिमले प्रदान गर्छ । जुद्धशमशेरले जुद्ध वारुणयन्त्र कार्यालय १९९४ सालमा स्थापना गरेपछि अग्नि नियन्त्रकलाई तालिमका लागि बेलायत पठाउँथे । केही वर्ष यो परम्परा चल्यो, पछि बन्द भयो । त्यसपछि अनुभवका आधारमा सिनियरले जुनियरलाई सामान्य तालिम दिँदै आएका छन् । ‘दमकल सेवालाई साह्रै हेपिएको छ, त्यसैले यहाँ कहिल्यै सुधार हुन सकेको छैन,’ नगरकोटीले भने ।

जुद्ध वारुणयन्त्र कार्यालय काठमाडौंका पूर्वप्रमुख तथा हाल काठमाडौं महानगरपालिकाको विपत् व्यवस्थापन विभागमा कार्यरत किशोरकुमार भट्टराई आगलागी मुख्यतया तीन प्रकृतिको हुने बताउँछन्– अफेन्सिभ, डिफेन्सिभ र ननइन्टरभेन्सिभ । अग्नि नियन्त्रकलाई यी तीन प्रकारको आगलागीको राम्रो ज्ञान हुनुपर्छ । जुन आगोको स्वरूप सानो हुन्छ र निभाउन जाँदा डराउनु पर्दैन, यस्तोलाई अफेन्सिभ भनिन्छ । जुन आगोको रुप ठूलो हुन्छ र लुकेर केही परबाट निभाउनुपर्छ त्यस्तोलाई डिफेन्सिभ भनिन्छ । जुन आगलागीको रूप भयंकर हुन्छ र हस्तक्षेप गर्न सकिँदैन । त्यस्तोलाई ननइन्टरभेन्सिभ भनिन्छ ।

‘बुधबार वीरगन्जमा भएको आगलागी ननइन्टरभेन्सिभ किसिमको हो । खतरनाक र अति प्रज्वलनशील पदार्थमा आगो सल्किँदा यस्तो हुन्छ । यस्तोमा आगो निभाउनभन्दा पनि आगलागीले नजिकका वस्तुमा पार्न सक्ने खतरा कम गर्नुपर्छ । आगोको प्रकृति नबुझेको मान्छेले यस्तो आगो निभाउन र खतरा कम गर्न सक्दैन । यो सबै सिकाउने तालिमले हो,’ भट्टराईले स्पष्ट पारे ।
अग्नि नियन्त्रकसम्बन्धी ऐन, कानुन र मापदण्ड नबन्दा सधंै अग्नि नियन्त्रकको जीवन जोखिम परेको बुझाइ भट्टराईको छ । विदेशमा अग्नि नियन्त्रक भर्ना गरिँदा वजन, उचाइ, शिक्षा, उमेर सबै विचार गरिन्छ । नेपालमा मापदण्ड नहुँदा अन्य सेवाका कर्मचारीलाई दकमलमा सेवामा लगाइने गरिएको छ । ‘जुन सेवामा प्रवेश गर्ने हो त्यहीअनुसार मापदण्ड, तालिम, सेवा, सुविधा, सर्त हुनुपर्छ, तर अग्नि नियन्त्रकका लागि हालसम्म यो बन्न सकेको छैन । कोरा मान्छेले आगो निभाउँदै आएका छन्,’ भट्टराईले भने ।
अग्नि नियन्त्रकका लागि नभई नहुने सामग्री जसलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) भनिन्छ । यसमा हेलमेट, ज्याकेट, पन्जा, चस्मा, बुट, अक्सिजन सिलिन्डर आदि पर्छन् । ठूलो आगलागी भई धुवाँको मुस्लो निस्कँदा सास फेर्न गाह्रो हुन्छ । त्यसैले अग्नि नियन्त्रकले साथमा अक्सिजन ग्यास सिलिन्डर पनि लैजानुपर्छ । तर काठमाडौं उपत्यकाबाहिरका अधिकांश वारुणयन्त्र कार्यालयमा यी चिज भेटिँदैनन् ।

‘आजसम्म सरकारले अग्नि नियन्त्रकको लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री सरकारले किनेको थाहा पाएको छैन । केही यस्ता सामग्री विदेशबाट अनुदानस्वरूप प्राप्त भएका छन्,’ भट्टराईले जानकारी दिए । केही समयअघि अस्ट्रियाको रोजनबर्गबाट ८५ लाख र बेलायतबाट २ करोडभन्दा बढीको व्यक्तिगत सुरक्षा सामग्री प्राप्त भएको थियो, ती सामग्री काठमाडौं उपत्यकाका जुद्ध वारुणयन्त्र कार्यालयमा राखिएको छ । यी सामग्रीमध्ये केही काठमाडौंबाहिरको २५ वटा नगरपालिकालाई पनि दिइएको छ ।
दमकल सेवा गृह मन्त्रालय हुँदै अहिले स्थानीय निकायको मातहतमा छ । यस्तो भएको पनि लामो समय बितिसक्यो । तर दमकल सेवा र कार्यरत अग्नि नियन्त्रकको सुरक्षा चासो भने सम्बोधन हुन सकेको छैन । ‘हामीकहाँ अग्नि नियन्त्रणसम्बन्धी छुट्टै कानुन बन्न सकेको छैन र विशेष तालिमको पनि व्यवस्था गर्न सकिएको छैन । बिनातालिम अग्नि नियन्त्रण गर्न सकिँदैन । यो अति संवेदनशील सेवा हो, तर सरकारको ध्यान पुग्न सकेको छैन,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने ।
अग्नि नियन्त्रणका लागि छुट्टै तालिम, जनशक्ति, सामग्री, मापदण्ड र कानुन आवश्यक पर्ने तामाङ बताउँछन् । विपत् र जोखिम न्यूनीकरणका क्षेत्रमा सरकारले लगानी बढाई अग्नि नियन्त्रकको चासो र आवश्यकतालाई सम्बोधन गरे बुधबारको जस्तो मानवीय क्षति राष्ट्रले व्यहोर्न नपर्ने उनको बुझाइ छ । 

प्रकाशित: ७ पुस २०७४ ०२:०८ शुक्रबार

जोखिममा अग्नि नियन्त्रक सुरक्षा भगवान् भरोसा