समाज

साझा,एकता,समावेशी र सदभावको पर्व बन्दै छठ

फाइल तस्बिर:कपिलवस्तुको राम घाट नदीमा पुजाको क्रममा सूर्यको पूजा गरिँदै ।

कपिलवस्तुमा केही वर्षयता छठ पर्व साझा, एकता, समावेशी पर्वको प्रतीक बन्दै गएको छ। ३ दशक अघि सम्म पूर्वी जिल्लाबाट नोकरीका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थ्यो।मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा बिभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ विगत १० वर्ष यता जिल्लाका बिभिन्न जातजातिहरूले समेत छठ पर्व मनाउने गरेका छन्।

अहिले भने छठ पर्व जिल्लामा साझा एकता समावेशी र सदभावको बनेको हो । मैथिली अवधि, भोजपुरी  र पहाडी समुदायलाई पर्वले जोडेको छ । केही वर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ । अहिले तराईका जिल्लाहरूमा समेत बिभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समोबशी र सांस्कृतिक पर्वका रुपमा विकसित हुँदै गएको हो।

सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरूमा मनाइने गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धुमधामसंग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो । विशेष गरी पुर् वका मधेसी समुदायले मात्र अँगालिएको छठ पहाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ।आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाउने छठ पर्व आउने शुक्रवार  सुरु भई  सोमवार सम्पन्न हुँदै छ।आईतावार परेको छठको पूजाका लागि विशेष घर घरमा विशेष तयारी समेत गरिएको छ।जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिङ्गे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या  हरेक वर्ष बृद्धि हुँदै गएको छ।

अधिकारकर्मी रवि ठाकुरले विगत १० वर्ष अघि सम्म पूर्व जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए । तर विगत केही वर्ष यता छठ पर्व जिल्लाका हिन्दु नेवार, मुस्लिम समुदायले समेत मनाउन थाले पछि यसले मैथिली, अवधि  भोजपुरी र पहाडी लाई जोडने काम गरेको बताए।कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी समा  शाक्यले एक  दशक अघि देखि छव पर्व मनाउँदै गएको बताईन।माइती घरमा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरूसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताईन।

बिभिन्न जात जातजातिहरूले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन् । कपिलवस्तु नगरपालिका– २ की कुन्ती पासीले जमुहरा नदीमा सबैसँग सामूहिक पूजा गर्ने गरेको बताईन । यस पटक पनि छठ पुजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामूहिक रुपमा पर्व मनाउन पाउँदा खुसी लागेको बताईन । ‘ सबै जना नदीमा गएर पूजा गर्छौ कुनै भेदभाव छैन, ’ उनले भनिन।जिल्ला समन्वय समितिका पूर्व सदस्य समेत रहेकी पासीले छठ पर्वले जिल्लामा  धार्मिक सदभाव समेत कायम  गरेको बताईन।छठ पर्व आफनो पुरै परिवार र छिमेकीहरू सित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन । तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद जाहिद खाँले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए।विशेष शुद्धासुद्धी,  हर्ष– उल्लास, परिवार, मित्रहरू, आफन्तजनहरुसंग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बत्ताउँछन् 

धनी, गरिब, हिन्दु मुस्लिम, महिला पुरुष, पहाडी मधेसी सबै वर्ग समुदायले अँगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको बिश्वास छ । सञ्चारकर्मी मनोज श्रीवास्तवले  जातिय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दत मिल्ने बत्ताउँछन् । पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढी रहेको बेला यो पर्वको व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वकोझन महत्व बढ्दै गएको मानवअधिकारकर्मी राम दयाल ठाकुर बत्ताउँछन् ।यो पर्वको महत्ता र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने उनको माग छ।छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्त्वपूर्ण रहेको केही चिकित्सकहरू बत्ताउँछन् । उनीहरूका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सी पाइने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिरहेको हुन्छ।त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ । छठ पर्वको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीको दिन देखि सुरु हुने गर्दछ । पहिलो दिनलाई नहान खान भनिन्छ । यस दिन विशेष सुद्धासुद्धि अपनाइनछ।

यस दिन देखि श्रद्धालुहरूले लसुन, प्याज, सुरोको दाल, कोदो लगायतको परीकारहरूको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ । दोस्रो दिन अर्थात पञ्चमीलाई खरना भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि माटाेको नयाँ चुलो र भाडामा सख्खर, दूध, र चामलको खीर पकाइन्छ । केराको पातमा राखेर खीर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझिया घाट भनिन्छ । पर्वको मुख्य दिनका रुपमा रहेको यस दिन बिहानै तेल र भ्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाच थरिका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुथनी, सुपारी, ल्वाङ,  सुकुमेल लगायतका सामाग्रीहरू राखिन्छ।सो सामाग्रीहरू बासको टोकरी, सुपोमा राखेर जल, गाईको दूध सहित छठ पर्व मनाउने घाट वा जलाशयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अध्र्य दिई  घर फर्कने गर्दछन्।

कतिपय व्रतालुहरू घर नफर्की रात भरी बस्ने गर्छन् । भाकल बसेका केही व्यक्तिहरूले माटोका देवी देवताका मूर्तिहरू बनाई पूजाआजा गर्छन् जसलाई कोशिया भनिन्छ । कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिए पछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुने गर्दछ । छठ पर्वका बिषयमा बिभिन्न कथा र किम दन्ती रहेको पाईएको छ । सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताइन्छ । यस्तै महाभारतमा पाच पाण्डवले बसेको गुप्त वासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको थिइन । त्यही बेला देखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाई छ । पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बने पछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पण्डितहरू बत्ताउँछन्। 

उता शुक्रवार  देखि ४ दिन सम्म चल्ने छठ पर्वको कपिलवस्तु र बुद्धभुमी नगरपालिकाले तयारी अघि बढाएको छ   । कपिलवस्तु नगरपालिकाका मेयर सुदी पौडेलले छठ पर्वकलालागि जमुहार र राम घाटमा सरसफाई, छठ स्थलको निर्माण लाईटिङ लगायतका कुराहरुको व्यवस्थापन गरिएको बताए ।  जमुहरा र राम घाट नदीमा छठ पर्वमा  व्रतालुहरूका लागि पूजा गर्न गरी सबै व्यवस्था मिलाइएको उनले बताए । राम घाटको वारी कपिलवस्तु नगरपालिका र पारी बुद्ध भूमि नगरपालिकाले छठ पूजा स्थल निर्माण गरेको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले राम घाट पारी पूजापाठका लागि छठ घाटमा निर्माण कार्य गरेको बताए । 

 

प्रकाशित: १ मंसिर २०८० ०५:४४ शुक्रबार

साझा एकता समावेशी र सदभावको पर्व बन्दै छठ