समाज

राहत नपाएको भूकम्पपीडितको गुनासो

भूकम्पबाट विस्थापित जाजरकोटको भेरी नगरपालिका-१ का बासिन्दा। तस्बिर: अर्जुन/नागरिक

भूकम्पले ठुलो पीडा दिइरहेका बेला राहत सामग्री बोकेर सहयोगी दाता गाउँमा पुग्दा जाजरकोटको भेरी नगरपालिका–१ की ६६ वर्षीया वृद्धा भजी रानाको मनलाई थोरै भए पनि शान्ति मिल्छ।

राहत सामग्री वडा कार्यालयलाई बुझाएर दाताहरू फर्किन्छन्। तर दाताले बुझाएको राहत सामग्री भने उनको हातमा राम्ररी पर्न पाउँदैन। भूकम्पले घर ध्वस्त पारिदिएपछि उनको परिवारले अहिले विस्थान बिताइरहेको छ।

राहतका नाममा उनले सानो त्रिपालको टुक्रा मात्र पाएकी छन्। तर त्यो त्रिपालले उनको आठ जनाको परिवारलाई शीत ओत्न पुगेको छैन। त्रिपाल नहुँदा रुखको साहारामा रात कटाउनुपरेको वृद्धा भजीले दुखेसो पोखिन्।

‘भुइँचालो आएको दिनदेखि बाहिरै खान्छौं, बाहिरै सुत्छौं, सानो त्रिपाल मात्रै पाएका छौं तर सबैलाई सुत्न पुग्दैन,’ बाँचुन्जेल यस्तो विपत्तिमा नपरेकी उनले सुस्केरा हाल्दै भनिन, ‘के मर्ने दिन आइगे।’

भूकम्प आएको भोलिपल्टैदेखि गाउँमा राहत सामग्री आउन थालेको उनी बताउँछिन्। नेपाल–भारत मैत्री संघ केन्द्रीय समितिले वडाका जनप्रतिनिधिलाई राहत सामग्री हस्तान्तरण गर्दा भेरी त्रिवेणी माध्यमिक विद्यालयको चौरमा आइपुगेकी वृद्धा भजीले भनिन्, ‘मेरो यो उमेर भयो अहिलेसम्म भुइँचालो आएको थाहा पाएकी थिएन, मर्ने बेलामा घरबारविहीन बनायों, दुःखको बेलामा हाम्रो पेट भरिदिन तपार्इंहरू आउनुभयो, तपाईंहरूको कल्याण होस्।’

संघले भूकम्प प्रभावित भेरी नगरपालिका–१ रिम्ना गाउँका २४० घरधुरी र आठबिसकोट नगरपालिकामा रहेका ५६० घरधुरीका लागि करिब १२ लाख रूपैयाँ बराबरको राहत सामग्री (ब्ल्यांकेट तथा खाद्यान्न) दियो।

संघका केन्द्रीय पदाधिकारीको टोली पुगेर जाजरकोटको रिम्ना गाउँ र रुकुम (पश्चिम) स्थित आठबिसकोट नगरपालिकामा पुगेर उक्त सामग्री हस्तान्तरण गरेको थियो। संघले आठबिसकोट नगरपालिकाका ५ सय ६० र जाजरकोट, भेरी नगरपालिका–१ रिम्नास्थित २ सय ४० घर परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको संघका वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माले सुनाइन्।

उनका अनुसार संघले आठबिसकोट नगरपालिकाकी नगर उपप्रमुख धनकुमारी शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक रानालाई राहत सामग्री हस्तान्तरण गरेको थियो। संघले राहत हस्तान्तरण गर्दै गर्दा सोही क्रममा नेपाली हर्ट गु्रप प्युठानको टोली आएर पनि रिम्ना गाउँका पीडितका लागि सामग्री छाड्यो। उक्त टोली पनि वडाका जनप्रतिनिधिलाई सामग्री जिम्मा लगाएर फर्किएको थियो।

त्यसको केहीबेरअघि मात्रै सुर्खेतका फलफूल तथा तरकारी व्यवसायी आएर पनि केही परिवारलाई पुग्ने आलु, सिमी, काउली, बन्दा, मुला छाडेर फर्के। उनीहरूले रिम्नास्थित राहत वितरण समितिलाई जिम्मा लगाए।

सुर्खेत फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर शाहीका अनुसार जाजरकोटका पीडित परिवारका लागि ३६ क्विन्टल आलु, ७ क्विन्टल काउली, ५ क्विन्टल मुला, ४ क्विन्टल बन्दा र १ क्विन्टल सिमी हस्तान्तरण गरिएको थियो।

भूकम्प प्रभावित क्षेत्रका अधिकांश पीडितले राहत सामग्री हातमा पुग्नै नसकेको गुनासो गर्छन्। आफूहरूको नाममा देश–विदेशबाट थुप्रै राहत सामग्री आए पनि आफूहरूको हातमा नपरेको अधिकांशको गुनासो छ। राहत सामग्री पाए पनि परिवारका लागि पर्याप्त नभएको उनीहरू बताउँछन्। प्रभावित क्षेत्रमा सहयोगी ाताहरू दैनिक रूपमा भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेका छन्।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको पीडामा मलम लगाउन देशका कुनाकुनाबाट पनि सहयोगी दाताहरू पुगेको देखिन्छ। यसका साथै विदेशमा रहेका नेपालीले पठाएको राहत सामग्री पनि प्रभावित क्षेत्रमा पुगिरहेको छ।

भारत र चीनले पठाएको राहत सामग्रीलाई पनि सरकारी माध्यममार्फत प्रभावित क्षेत्रमा लगिएको छ। कोहलपुर–छिन्चु–सल्लीबजार हुदै जाजरकोट तथा रुकुम पश्चिमको सडक खण्डमा दैनिक रूपमा ठुलो संख्यामा राहत सामग्री बोकेका सवारीसाधन गुडिरहेका छन्। उक्त सडक खण्डमा राहत बोकेर लैजाने र फर्किने सवारीसाधनको चहल धेरै छ।

अधिकांश सहयोगी दाता स्थानीय सरकार (वडा वा पालिका) तथा जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरेर फर्किन्छन् भने कतिपयले आफ्नै हातले बाँडेर पनि फर्किन्छन्। प्रभावित क्षेत्रमा सहयोगी दाताको ओइरो लागिरहँदा पनि पीडितको हातमा सामग्री राम्रोसँग पुग्न सकेको छैन।

दाताहरूको ओइरो लागिरहँदा उनीहरूले हस्तान्तरण गरेको राहत सामग्री कहाँ गइरहेको छ त? कतिपय पीडितले जिल्ला विपद् व्यवस्थापन समिति र पालिका तथा वडा कार्यालयले दाताबाट बुझेर संकलन गरेको राहत सामग्री वितरण नगरेर त्यसै जम्मा गरेको गुनासो गरेका छन्।

भूकम्पपीडितको दयनीय अवस्था देख्दा राहत लिएर पुगेका सहयोगी दाता समेत स्तब्ध हुन्छन्। नेपाल–भारत संघकी वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माले भूकम्प पीडितको अवस्थाले आफूलाई भावुक बनाएको सुनाइन्।

आफूहरूले ल्याएको राहत एकद्वार प्रणालीअनुसार स्थानीय सरकारकै जिम्मा लगाएको बताउँदै भनिन्, ‘हामीले एकद्वार प्रणालीअनुसार नै राहत जिम्मा लगायौं, पीडितको हातमा दिएनौंं, भूकम्पपीडितका लागि यति धेरै आएको छ तर प्रत्यक्ष हेर्दाखेरि पीडितले पाउनुभएको छैन, कसैले धेरै लग्यो, कसैले थोरै लग्यो भन्ने गुनासो छ।’

संघका महासचिव सुवेदीले पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिसकेपछि दोस्रो चरणमा पनि सहयोग गर्ने सोच बनाएको बताए। ‘पहिलो चरणमा १२ लाख रूपैयाँ बराबरको खाद्य सामग्री र ब्ल्यांकेटहरू ल्याएर भेरी नगरपालिका–१ रिम्नामा जिम्मा लगायौं, यहाँ २४० परिवारका लागि र ५६० परिवारका लागि रुकुम पश्चिमको आठबिसकोटमा जनप्रतिनिधिको जिम्मा लगाएका छौं,’ उनले भने, ‘हामीले हस्तान्तरण गरेको राहत सामग्री न्यायोचित रूपले वितरण हुनेमा आशावादी छौं।’

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले प्राप्त भएको राहत सामग्री पीडितलाई न्यायोचित रूपले वितरण गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १ मंसिर २०८० ०३:३९ शुक्रबार

राहत सामग्री भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक राना